सेनाको योजना : घडेरीपछि जलविद्युत्मा लगानी

२०७३ भाद्र २ गते, बिहीबार

काठमाडौं,२ भदौ । घडेरी बिक्रीपछि नेपाली सेनाले जलविद्युत्मा पनि लगानी गर्ने तयारी गरेको छ । यसका लागि सैनिक ऐन, २०६३ र सैनिक कल्याणकारी कोष नियमावली, २०६५ लाई लगानी मैत्री हुने गरी संशोधनको गृहकार्य पनि सेनाले थालेको छ । सैनिक कल्याणकारी कोषमा ठूलो रकम जम्मा भएपछि सेनाले विभिन्न क्षेत्रमा लगानी गर्न चाहेको छ । आफ्नै मातहतका शिक्षा र स्वास्थ्यमा लगानी गर्दै आइरहेको सेनाले घडेरी बिक्रीसँगै अब जलविद्युत् क्षेत्रमा पनि लगानी गर्न लागेको हो ।
प्रमोटरका रूपमा जलविद्युत्मा लगानी गर्न ऐन र नियमावलीले रोक्ने भएपछि सेनाले संशोधनको लागि लबिङ गरिरहेको छ । रक्षा मन्त्रालयका प्रवक्ता शिव सिम्खडाले सैनिक ऐन र नियमावलीअनुसार सेनाले प्रमोटरको भूमिका निर्वाह गर्न नमिल्ने बताए ।
कल्याणकारी कोषमा ३७ अर्ब ४७ करोड रुपैयाँ जम्मा भएको छ, जसमा ३३ अर्ब ६ करोड नगद मौज्दात छ । सेनाले मकवानपुरको माण्डु खोला र मनाङ हाइड्रोमा लगानी गर्ने योजना बनाइरहेको छ । कल्याणकारी कोषका निर्देशक सहायक रथी गौरव तन्डुलले भने, ‘लगानी गर्न चाहेका छौं । तर कुन मोडालिटीअनुसार लगानी गर्ने भन्ने बारेमा भने अझै टुंगो लाग्न सकेको छैन । केही सातामा यसबारे निचोडमा पुग्नेछौं ।’
सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापनका लागि प्रधानसेनापतिको अध्यक्षतामा ७ सदस्यीय समिति बनाइएको छ । जसको संरक्षक प्रधानमन्त्री हुन्छन् । समितिमा अर्थ र रक्षा मन्त्रालयका सहसचिव पनि सदस्य हुन्छन् ।
स्रोतका अनुसार समितिमा कल्याणकारी कोषको रकमलाई कसरी लगानी गर्ने भन्ने बारेमा पटक–पटक छलफल भएको छ ।
सेनाले ऐन र नियमावली संशोधनको प्रस्ताव ल्याए पनि रक्षा मन्त्रालयले भने मुलुकको आन्तरिक तथा बाह्य सुरक्षाको जिम्मेवारी पाएको सेनालाई सबै क्षेत्रमा लगानी गर्न छुट दिए समस्या हुने बताउँदै आएको छ । ‘सेनाले सबै स्थानमा लगानी गरेर व्यवसाय गर्न थाले भोलि सरकारलाई समस्या पर्दैन ?’ मन्त्रालयका एक कर्मचारीले भने । – कान्तिपुर दैनिकवाट

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु