बिल्डिङ एन्ड कन्स्ट्रक्सन मेला जारी

२०७३ भाद्र ४ गते, शनिबार

काठमाडौं, ४ भदौ । भूकम्पप्रतिरोधी भवन निर्माण सामग्री तथा प्रविधिबारे जानकारी गराउने उद्देश्यले काठमाडौंमा बिल्डिङ एन्ड कन्स्ट्रक्सन मेला २०७३ सुरु भएको छ । युथ कम्युनिटी फर नेप्लिज कन्ट्राक्टर्सले आयोजना गरेको मेलाको शुक्रबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले उद्घाटन गरेका हुन् । मेलामा ५० जना स्वयंसेवी इन्जिनियरहरुले निर्माणसम्बन्धी जानकारी दिनेछन् । मेलामा निर्माणसम्बन्धी विभिन्न पाँचओटा विषयमा प्राविधिक छलफल रहेको संस्थाका अध्यक्ष विरेन्द्रराज पाण्डेले बताए ।
मेलामा राष्ट्रिय भवनसंहिता तथा उपयोग, पुनःनिर्माण तथा पुनर्बास, निर्माण सामग्री तथा प्रविधि, सहरीकरण तथा बस्ती विकास एवं पुरातात्विक सम्पदा विषयमा छलफल हुने जनाइएको छ । मेलामा घरजग्गा, सिमेन्ट, फर्निचर तथा फर्निसिङ, छड, इलेक्ट्रोनिक तथा इलेक्ट्रिक सामग्री, बैंक, बिमा, प्रिफेब हाउसलगायतका १ सय ५० भन्दा बढी स्टल राखिएका छन् । मेला भदौ ६ गतेसम्म चल्नेछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु