व्यावसायिक बाख्रा पालनबाट मनग्य आम्दानी
काठमाडौं, ६ भदौ । झापाका कृषकले बोयर जातका बाख्राको व्यावसायिक पालनबाट मनग्य आम्दानी गर्न थालेका छन् । यस जातको बाख्राको तौल एक वर्षमै एक सय किलोको हाराहारीमा पुग्ने भएकाले यसबाट कृषकले राम्रो आम्दानी लिन थालेका हुन् । चाँडै फाइदा हुने भएपछि कृषक व्यावसायिक रुपमै बोयर बाख्रा पालनमा लागेको कृषक गणेश पराजुली बताउँछन् । बाख्रा खरिद र गोठ व्यवस्थापनमै अहिलेसम्म २७ लाखभन्दा बढी रुपैयाँ खर्चेको पराजुलीको भनाइ छ ।
अफ्रिकाबाट सात लाख रुपैयाँ तिरेर बोयर जातका एउटा बोका र एउटा पाठी ल्याएका पराजुलीले नौ महिनामै पाठापाठी बिक्रीबाट चार लाखभन्दा बढी आम्दानी गरिसकेका छन् । यस जातका बाख्राले वर्षमा तीन पटक पाठा–पाठी दिने गर्दछ ।