जसले रिक्सामा भेटेको ४७ हजार रुपैयाँ बुझाए…
काठमाण्डौ , १० मंसिर । चितवनको भरतपुरमा अटो रिक्सा चलाउँदै एक चालकले आफूले भेटेको रकम सम्बन्धित व्यक्तिको खोजी गरी बुझाएका छन् । चालक विजयखाती क्षेत्रीले भेट्टाएको ४७ हजार ५ सय रुपैयाँ इलामबाट क्यान्सरको उपचार गर्न भरतपुर आएका विरामी हरिप्रसाद नेपाललाई शुक्रबार बुझाएका हुन् । नेपाल बिहीबार खातीको ना१ह ६४३३ नम्बरको अटो चढेर बास बस्न होटल खोज्दै धर्मचोक गएका थिए । सिट पछाडि राखेको ब्याग झर्ने बेलामा अटोमै छुटेको उनले पत्तो पाएनन् । साँझ ५ बजेतिर चिकित्सकलाई भेटेर बास बस्न धर्मचोक पुगेपछि मात्र ब्याग छुटेको थाहा पाए । छुटेको ब्याग कसरी फेला पार्ने भन्दै उनी रातभर सुत्न सकेनन् । खोज्ने निकै प्रयास गरे । अण्डकोषमा ट्युमर पलाएपछि उपचारकालागि उनले दूध बेचेर पैसा जम्मा गरेका थिए । ‘पैसा हराएर रातभरी निदाउन सकिन,’ नेपालले भने, ‘पैसा नभेटिएपछि उपचार नै नगरी घर फर्कने सुर कसी सकेको थिएँ ।’
‘मैले अहिलेसम्म कसैको पसिना खाएको थिइनँ,’ उनले भने, ‘पाउँछु की भन्ने झिनो आशा थियो, नभन्दै पाएँ ।’ उनले अहिलेको समयमा क्षेत्री जस्ता इमानदार व्यक्ति फेला पार्न मुस्किल पर्ने बताए । पैसा पाएपछि उपचार गरेर मात्र घर फर्कने उनले बताए । चालक खत्रीलाई भने पैसा जिम्मा लगाउन निकै कष्ट सहनु पर्यो ।
‘साँझ घर पुगेर मात्र अटोमा यात्रुको झोला छुटेको थाहा पाएँ,’ चालक क्षेत्रीले भने,‘ झोलामा इलाम लेखेको मात्र फेला पारेँ, तर कसको भनेर छुट्याउन निकै समस्या भयो ।’ उनी बिहानै उठेर अस्पताल पुगे । उनलाई कहिले पैसा बुझाम भएको थियो ।
अस्पातलमा रहेको प्रहरीको सहयोगमा बिरामी खोजेर झोला, पैसा दिन पाउँदा खुशी लागेको उनले बताए । ‘पैसा फेला पार्नसाथ कहिले उज्यालो हुन्छ र जसको हो उसलाई खोजेर दिन पाइएला भन्ने थियो,’ उनले भने,‘ त्यही भएर बिहानै अस्पताल पुगेँ, जसको पैसा हो, उसलाई फेला पारेर पैसा जिम्मा लगाउन पाउँदा खुशी छु ।’ उनलाई अस्पतालका कर्मचारी, विरामीका आफन्तले राम्रो काम गरेको भन्दै स्याबासी दिएका थिए । – विमल खतिवडा, कान्तिपुर