केन्द्रीय प्रसारणलाइनमा करिब १०० मेगावाट विद्युत् जोडियो

२०७३ पुष १५ गते, शुक्रबार

काठमाडौं, १५ पुस । चालु आर्थिक वर्षको पाँच महिनामा निजी क्षेत्रका आयोजनाबाट कुल ९७ मेगावाट विद्युत् उत्पादन भएको छ । ऊर्जा मन्त्रालयकाअनुसार सरकारी आयोजना निर्माणमा ढिलाइ भइरहेकोबेला निजी क्षेत्रका आयोजनाले भने एकपछि अर्को गर्दै राष्ट्रिय प्रसारणलाइनमा विद्युत् जोड्न थालेका छन् । ऊर्जा मन्त्रालयमा निजी प्रवद्र्धकहरुले पछिल्लोपटक गराएको जानकारीअनुसार ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी जलविद्युत् आयोजनाले पूर्णक्षमतामा विद्युत् उत्पादन सुरु गरेको छ । नेपाली र चिनियाँ संयुक्त लगानीमा अगाडि बढाइएको सो आयोजनाले विगत केही दिन पहिलेबाट पूर्णक्षमतामा विद्युत् उत्पादन सुरु गरेको छ । यस्तै, २५ मेगावाट क्षमताको माथिल्लो मादी आयोजना पनि निर्माण भएको छ ।
त्यसैगरी, १५ मेगावाटको हेवाखोला, ६ मेगावाटको दरौदी र १ मेगावाटको नियाखोला जलविद्युत् आयोजना सम्पन्न भएका छन् । नदी प्रवाहमा आधारित ती जलविद्युत् आयोजनाले पूर्णक्षमतामा विद्युत् उत्पादन गरेको जनाएपनि अवस्था भने त्यस्तो नरहेको बताइन्छ । ऊर्जा मन्त्रालयले ९७ मेगावाट विद्युत् उत्पादन सुरु भएको जनाएपनि हाल ५० मेगावाट क्षमतामात्रै जोडिएको बताइन्छ ।
चिनियाँ लगानीकर्ता सिनो हाइड्रो कर्पोरेसन र नेपालको सगरमाथा पावर कम्पनीको संयुक्त लगानीमा निर्माण भएको माथिल्लो मर्स्याङ्दीको विद्युत् जोडिएपछि कास्की, तनहुँ र पोखरामा थप सहजता भएको छ । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले परीक्षण उत्पादनबाट जोडिएको विद्युत्ले पनि राष्ट्रिय प्रसारण प्रणालीमा सहज भएको जानकारी दिए । यस्तै, चीनको चाइना वाटर एन्ड इलेक्ट्रक कर्पोरेसन र नेपालको गोरखा कन्ट्रक्सन कम्पनीको साझेदारमा निर्माण भएको मादीको परीक्षण उत्पादन सुरु भएको छ । आयोजनाको शुक्रबार (आज) ऊर्जामन्त्री जनार्दन शर्माले उद्घाटन गरेका छन् । यस्तै, नेपालको पाँचथर पावर कम्पनीले निर्माण गरेको हेवाखोला आयोजना निर्माण सम्पन्न भएको छ । पाँचथरको फिदीममा सवस्टेसन निर्माण सकिएकाले केही दिनभित्रै आयोजनाले व्यापारिक उत्पादन सुरु गर्ने जानकारी आफूहरुलाई दिएको प्रवक्ता अधिकारीले बताए । कालीका कन्ट्रक्सन प्रालिले निर्माण गरेको कालीका दरौदी जलविद्युत् कम्पनीले निर्माण गरेको ६ मेगावाट क्षमताको दरौदी ‘ए’ जलविद्युत् आयोजनाले पनि व्यापारिक उत्पादन सुरु गरिसकेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिन पहिले सो आयोजनाको उद्घाटन गरेका थिए । सरकारले चालु आवको अन्त्यसम्म दुई सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेकामा हालसम्म करिब एक सय मेगावाट विद्युत् उत्पादन भइसकेको छ । प्राधिकरणको भार प्रेषण केन्द्रकाअनुसार हाल मुलुकभर विद्युत्को माग एक हजार २४५ मेगावाटमा झरेको छ । यसअघि एक हजार २८६ मेगावाट रहेको थियो । भारतबाट आयात गरिएकोसमेत गरेर ८५५ मेगावाट विद्युत् उपलब्ध भइरहेको छ ।
यस आधारमा प्रणालीमा ३९० मेगावाट विद्युत् अपुग हुन पुगेको छ । थप विद्युत् उपलब्ध गराउने लक्ष्यका साथ यही पुस १७ गतेदेखि भारतबाट थप ४० मेगावाट विद्युत् केन्द्रीय प्रसारणलाइनमा जोडिनेछ । – रमेश लम्साल (रासस)

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु