बोइलर चल्लाको मूल्य आकाशियो

२०७३ माघ २२ गते, शनिबार

काठमाडौं, २२ माघ । नेपाल ह्याचरी संघले बोइलर चल्लाको मूल्य बढाएको छ । आइतबार (भोलि)देखि लागू हुने गरी प्रतिचल्लामा रु पाँच बढाइएको हो । यसअघि प्रतिचल्ला ६० रुपैयाँ तिर्दैै आएका किसानले अब प्रतिचल्ला रु ६५ तिनुपर्नेछ । नेपाल ह्याचरी संघका केन्द्रीय उपाध्यक्ष एवं चितवन जिल्लाका अध्यक्ष ऋषिराम पौडेलले अहिले देशभरि नै बोइलर चल्लाको माग उच्च भएको र उत्पादन कम भएको कारण चल्लाको मूल्य बढेको बताए ।
फागुपूर्णिमालाई लक्ष्य गरी बोइलर पाल्ने किसानको संख्यामासमेत वृद्धि भएकाले माग बढेको उनको भनाइ छ । विशेषगरी फागुपूर्णिमामा तराईका जिल्लामा मासुको अत्यधिक खपत हुने गर्दछ । पछिल्लो समय बोइलर मासुमासमेत मूल्यवृद्धि भएपछि किसान यसतर्फ आकर्षित भएका हुन् ।
अध्यक्ष पौडेलकाअनुसार चितवन जिल्लामामात्रै प्रतिहप्ता १५ लाख चल्ला उत्पादन हुँदै आएको छ । उत्पादनको करिब ४० प्रतिशत चितवनमामात्रै खपत हुन्छ भने ६० प्रतिशत देशका विभिन्न जिल्लामा जाने गर्दछ । पछिल्लो समयमा चितवनमा अन्डाको मूल्यसमेत बढ्दै आएको छ । भूकम्पकाबेला अस्तव्यस्त बनेको कुखुरा व्यवसाय अहिले विस्तारै फस्टाउँदै गएको अन्डा व्यवसायी शिवराम केसीको भनाइ छ । नेपालमा कुखुरा व्यवसायमा झन्डै रु ७५ अर्ब लगानी भएको छ । चितवनलाई कुखुराको राजधानीकोरुपमा चिनिन्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु