लगानी सम्मेलनमा १३ खर्ब ५२ अर्ब लगानीको प्रतिबद्धता

२०७३ फाल्गुन २१ गते, शनिबार

काठमाडौं, २० फागुन । दुईदिने नेपाल लगानी सम्मेलनमा १३ खर्ब ५२ अर्ब रुपैयाँको लगानी प्रतिबद्धता प्राप्त भएको छ । सरकारले अनुमान गरेभन्दा साढे १२ खर्ब रुपैयाँ बढीको लगानी प्रतिबद्धता आएको हो । सरकारले यो सम्मेलनबाट १ खर्ब लगानी जुट्ने अनुमान गरेको थियो । सम्मेलनको समापन कार्यक्रममा शुक्रबार लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले १३ अर्ब ५२ करोड अमेरिकी डलर लगानीको प्रतिबद्धता आएको जानकारी गराए । लगानी सम्मेलनमा चीनले सबैभन्दा बढी ८ अर्ब ३० करोड अमेरिकी डलर लगानीको प्रतिबद्धता जनाएको छ । यस्तै, बंगलादेशबाट २ अर्ब ४० करोड डलरको लगानी प्रतिबद्धता आएको छ । जापान र बेलायतका लगानीकर्ताले पनि एक/एक अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।
यसैगरी, श्रीलंकाबाट ५० करोड डलरको लगानी प्रतिबद्धता आएको छ भने भारतले ३१ करोड ७० लाख डलरकोमात्रै लगानी प्रतिबद्धता जनाएको छ ।
सम्मेलनमा स्वदेशी लगानीकर्ताले १ करोड १५ लाख डलरको लगानी प्रतिबद्धता जनाएका छन् । विशेषगरी ऊर्जा, यातायात, कृषि, पर्यटन र सूचना तथा प्रविधिलगायतका पूर्वाधार क्षेत्रमा लगानीका लागि प्रतिबद्धता आएको हो ।
सम्मेलन समापन कार्यक्रममा उद्योगमन्त्री नवीन्द्रराज जोशीले विदेशी लगानीकर्ताले नेपालमा लगानी गर्न देखाएको चासोलाई सरकारले उच्च मूल्यांकन गर्दै लगानी ल्याउने वातावरण तत्काल बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले लगानीकर्ताले खोजेको प्रक्रियागत झन्झट हटाइ उक्त लगानी ल्याउने वातावरण बताउने बताए । सम्मेलनमा २८५ विदेशीसहित ७७५ जना लगानीकर्ताको सहभागिता रहेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु