फेरि इन्धन अभाव

काठमाडौं, २७ फागुन । काठमाडौं उपत्यकामा इन्धन अभाव भएको छ । बुधबार नारी दिवसमा इन्धन वितरण नभएको र मधेस आन्दोलनको त्रासले माग वृद्धि भएको आयल निगमले जनाएको छ । निगम प्रवक्ता सीताराम पोख्रेलले सामान्य अवधिभन्दा माग दोब्बर भएको बताए । प्रवक्ता पोख्रेलले बिहीबार दोब्बर माग भएपछि आपूर्ति पनि बढाएको बताए । ‘आइतबार, सोमबार र मंगलबार ३ लाख ५० हजारदेखि ४ लाख लिटरसम्म पेट्रोलको माग थियो,’ उनले भने, ‘बुधबार सार्वजनिक बिदाको दिन वितरण भएन । बिहीबार माग धेरै भएपछि ८ लाख लिटर पेट्रोल वितरण गरेका छौँ ।’
थानकोट डिपोले बुधबार दिउँसोबाट लोडिङ थालेकाले साँझसम्म पम्पमा इन्धन पुगेको थियो । प्रवक्ता पोख्रेलका अनुसार बिहीबार बिहानैबाट उपभोक्ताको लाइन बढेपछि थानकोट डिपोले ८ लाख लिटर पेट्रोल र ९ लाख ५० हजार लिटर डिजेल वितरण गरेको थियो । ‘सामान्य अवधिभन्दा दोब्बर बढी वितरण गरिएको छ,’ उनले भने । अमलेखगन्जबाट आयात गरेको इन्धनले नपुगेर नेपालगन्ज डिपोबाट समेत उपत्यकालाई इन्धन आयात गर्न लागिपरेको उनले बताए ।
सरकारी पम्पमा लाइन
उपत्यकामा साझा सहकारी, सेना, प्रहरी र सशस्त्रले सञ्चालन गरेका पम्पमा बुधबार बिहानैबाट उपभोक्ताको लाइन लागेको थियो । सरकारी सवारीसाधनलाई इन्धन वितरण गर्नुपर्ने भएकाले यस्ता पम्पले निजीभन्दा बढी मौज्दात राख्ने गर्छन् । निगमले थानकोट डिपोमा ट्यांकर लोड थालेपछि सरकारी पम्पले मौज्दात इन्धन वितरण गर्ने गरेका कारण उपभोक्ताको भीड बढ्ने गर्छ । पुल्चोकको साझा सहकारीमा बुधबार बिहानदेखि मोटरसाइकल–स्कुटर र चारपांग्रे सवारीसाधनको बाक्लो लाइन थियो । उपत्यकामा सरकारी स्वामित्वको संस्थाका ८ वटा पम्प छन् । यी पम्पले निजीभन्दा दोब्बर परिमाण इन्धन वितरण गर्ने गर्छन् ।
आज ७ लाख लिटर वितरण
निगमले आज (शुक्रबार) उपत्यकामा सात लाख लिटर पेट्रोल वितरण गर्ने भएको छ । प्रवक्ता पोख्रेलले अमलेखगन्जमा पेट्रोल ७ लाख र डिजेल १४ लाख लिटर लोडिङ भइरहेको जानकारी दिँदै भने, ‘शुक्रबार पनि सामान्य अवधिभन्दा धेरै वितरण गरी अहिलेको लाइनलाई तत्कालै घटाउने प्रयत्नमा छौँ ।’
उनले मधेस आन्दोलनका क्रममा इन्धन अभाव हुन सक्ने आशंकाले उपभोक्ताले बढी माग गर्न थाले पनि आपूर्तिमा कुनै समस्या हुन नदिने गरी काम गरिरहेको बताए । उपभोक्तालाई बढी इन्धन सञ्चय नगर्न पनि उनले आग्रह गरेका छन् । – नयाँ पत्रिका दैनिकबाट