अन्तर्राष्ट्रिय व्यापार मेला शुरु
काठमाडौं, ३ चैत । नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित छैठौं अन्तर्राष्ट्रिय व्यापार मेला आजबाट शुरु भएको छ । महासंघले काठमाडौंको भृकुटीमण्डपमा सुरु गरेको सो मेलामा स्वदेशी व्यवसायीका साथै भारत, चीन, बंगलादेश, पाकिस्तान, थाईल्याण्ड लगायतका देशका व्यवसायी सहभागी छन् । व्यापार मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको आर्थिक विकासमा नीजि क्षेत्रको योगदान उल्लेखनीय रहँदै आएको बताए । उनले मुलुकमा लगानीको उचित वातावरण अझै नबनेको भन्दै यस्ता मेलाले नेपालमा उत्पादित वस्तुप्रति अन्तर्राष्ट्रिय क्षेत्रको ध्यानाकर्षण हुने र लगानीको वातावरण बन्ने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री दाहालले नेपालमा अन्तर्राष्ट्रियस्तरको व्यापार प्रदर्शनी केन्द्र स्थापना गर्ने तयारी सरकारले गरेको जानकारी दिए । उनले आर्थिक विकास र समृद्धिका लागि नीजि क्षेत्रसँगको सहकार्य गर्न सरकार तयार रहेको बताए । आर्थिक विकासका लागि आवश्यक ऐन कानुन बनाउने काम सरकारले गरिरहेकाले ढुक्क भएर लगानी गर्न व्यवसायीलाई उनको आग्रह थियो ।कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले व्यवसायीक कौशलता आदानप्रदान गर्न मेलाले सहयोग पुग्ने विश्वास व्यक्त गरे । चैत ७ गतेसम्म चल्ने मेलामा चीनका ८०, बंगलादेशका ३५, पाकिस्तानका २०, भारतका १० र थाईल्यान्डका २ वटा स्टल राखिएका छन् । मेलाको ५ लाख अवलोकनकर्ताले अवलोकन गर्ने आयोजक संस्थाले अपेक्षा गरेको छ ।