दर्जन सिमेन्ट उद्योग संकटमा

२०७४ बैशाख १५ गते, शुक्रबार

काठमाडौं , १५ बैशाख । रुपन्देहीमा सञ्चालित एक दर्जन सिमेन्ट उद्योग समस्यामा परेका छन् । सिमेन्ट उत्पादन गर्न आवश्यक क्लिंकर तथा अन्य कच्चा पदार्थको अभाव भएपछि ति उद्योग समस्यामा परेका हुन् । भैरहवा–लुम्बिनी करिडोरमा सञ्चालित सिमेन्ट उद्योगले पर्याप्त कच्चा पदार्थ नपाउँदा झन्डै ६० प्रतिशत उत्पादन घटाउनु परेको बताएका छन् । राष्ट्रिय गौरवका आयोजनासँगै मुलुकमा पुनर्निर्माणले गति लिइरहेका बेला सिमेन्ट उद्योगमा भने समस्या देखिएको छ । यसले पुनर्निर्माणको काम नै प्रभावित हुने संकेत देखिएको छ ।
भारतको उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथले पद बहाली गरेसँगै अन्डर लोडिङको बहानामा भारतबाट आउने क्लिङ्कर तथा अन्य कच्चा पदार्थमा कडाई गरिदिएपछि नेपाली सिमेन्ट उद्योग संकटमा परेका हुन् । सिमेन्ट उत्पादनका लागि आवश्यक क्लिङ्कर, फ्लाईएस, जिपसनलगाएतका कच्चा पदार्थका लागि यहाँका अधिकांश उद्योग भारतसँग पूर्ण निर्भर छन् ।
भारतको मात्रै भर पर्नुपरेका कारण नेपाली सिमेन्ट उद्योगले बेलाबेलामा यस्ता संकट बेहोर्ने गरेका छन् । कच्चा पदार्थको अभाव, ढुवानीको समस्या तथा ढुवानीदर बढेको भन्दै सिमेन्ट उद्योगहरुले सिमेन्टको मूल्य १० प्रतिशतसम्म वृद्धि गरेका छन् ।
सिद्धार्थ सिमेन्ट उद्योग भैरहवाका सञ्चालक रोहित अग्रवालले भारतमा अन्डर लोडिङको समस्याका कारण नेपाली उद्योग बन्द हुने अवस्थामा पुगेको बताए । एउटै गाडीले ३५ देखि ४० टन माल ल्याउने गरेकोमा अहिले त्यो घटेर १५ टनमा सिमित भएकाले कच्चा पदार्थ अभाव भएको उनको भनाइ छ । यस्तै अवस्था रहे अबको एक हप्ताभन्दा बढी उद्योग चलाउन नसकिने उनको भनाई छ ।
कच्चा पदार्थ अभाव भएपछि केही उद्योगले उत्पादन बन्द गरिसकेका छन् । पश्चिमाञ्चल सिमेन्ट उत्पादक संघका महासचिवसमेत रहेका जगदम्बा सिमेन्ट ईन्डस्ट्रिजका महाप्रबन्धक बिदुर ढुंगानाले ट्रकको अभावसँगै ढुवानी लागत पनि बढेको बताए । उनले समस्या समाधान नभए उद्योग बन्द गर्नुको विकल्प नभएको बताए ।
भारतले बीएस थ्रीका गाडीको नयाँ दर्तामा बन्देज लगाएपछि आवश्यक गाडीको अभाव चर्किएको बृज सिमेन्ट ईन्ड्रस्ट्रिजका महाप्रबन्धक रविरञ्जन कुमारले बताए ।
बजारमा सिमेन्ट अभाव हुँदा सर्वसाधरणले निर्माण गर्दै आएका घर बीचमै रोक्नुपर्ने अबस्था आएको छ भने नयाँ घर बनाउनेलाई पनि निकै समस्या देखिएको छ । यस्तो समस्या समाधान गर्न सरकारले नै तत्काल पहल गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार