भूकम्प पीडितलाई ट्याक्सी वितरण हुदै

२०७४ असार ७ गते, बुधबार

काठमाडौ, ७ असार । यातायात व्यवस्था विभागले १४ जिल्लाका एक हजार पाँच सय भूकम्पपीडितलाई आजदेखि ट्याक्सी नम्बर प्लेट वितरण गर्ने भएको छ। विभागले ललितपुरको च्यासल फुटबल ग्राउन्डमा सर्वसाधरणकै उपस्थितिमा गोला प्रथा गरी तीन दिनसम्म नम्बर वितरण गर्न लागेको हो।
विभागले ट्याक्सी नम्बर प्लेट वितरण तीनदिन वितरण गर्ने कार्यतालिका बनाएको छ। विभागका प्रवक्ता टोकराज पाण्डेले पहिलो दिन बुधबार अर्थात् असार ७ गते काभ्रेपलान्चोक, नुवाकोट र रामेछापका चार सय ९१ जनालाई गोला प्रथाबाट ट्याक्सी नम्बर वितरण गरिने जानकारी दिनुभयो। यी तीन जिल्लाबाट ट्याक्सी नम्बर प्लेटका लागि ४८ हजार नौ सय ६५ जनाले आवेदन दिएका छन्।
यसैगरी दोस्रो दिन बिहीबार अर्थात् असार ८ गते दोलखा, सिन्धुली र सिन्धुपाल्चोकका पाँच सय १३ जनालाई पनि गोला प्रथाबाट नै ट्याक्सी नम्बर वितरण गरिनेछ। यी तीन जिल्लाबाट ट्याक्सी नम्बर प्लेटका लागि ५१ हजार तीन सय १२ जनाको आवेदन परेको छ। यसैगरी गोला प्रथाको अन्तिम दिन असार ९ गते अर्थात् शुक्रबार काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, धादिङ, ओखलढुंगा, गोरखा र रसुवाका चार सय ९६ जना भूकम्पपीडितलाई ट्याक्सी नम्बर वितरण हुने भएको छ। यी आठ जिल्लाबाट ट्याक्सी नम्बर प्लेटका लागि ४९ हजार तीन सय ११ जनाले आवेदन दिएका छन्।
विभागले सबै आवेदकलाई एउटै बाकसमा हालेर गोला प्रथा गर्न असम्भव भएकाले जिल्लाअनुसार कोटा निर्धारण गरेको जनाएको छ। एउटै बाकसमा हालेर गोला प्रथा गर्दा कुनै एउटा जिल्लाका आवेदकले मात्रै बढी ट्याक्सी नम्बर प्लेट पाउने अवस्था रहने भन्दै समानुपातिक वितरणका लागि जिल्लाबाट आएका आवेदक संख्याअनुसार कोटा निर्धारण गरिएको पाण्डेले जानकारी दिए।
विभागले सार्वजनिक स्थानमा गर्ने गोला प्रथाको कार्यक्रमलाई टीभी टु डे र मेट्रो एफएमबाट पनि प्रत्यक्ष प्रसारण गर्ने भएको छ। यसका कारण गोल प्रथा हुने ठाउँमा आउन नसक्ने आवेदकले पनि घरबाटै ट्याक्सी नम्बर प्लेट पाए नपाएको थाहा पाउन सक्छन्। विभागले चैत २६ गते नै गोला प्रथा गरेर ट्याक्सी नम्बर प्लेट वितरण गर्न लागे पनि पहिलो चरणको स्थानीय निकायको निर्वाचनका कारण रोकिएको थियो।
गोला प्रथाका लागि आवश्यक सबै तयारी भइसकेको पाण्डेले जानकारी दिए। गोला प्रथाबाट ट्याक्सी नम्बर प्लेट पाउने भूकम्पपीडितले कहिलेसम्म ट्याक्सी खरिद गरी नम्बर दर्ता गराउनुपर्ने भन्ने विषयमा विभागले समय तोकेको छैन। ट्याक्सी नम्बर प्लेटका लागि कुल एक लाख ४९ हजार पाँच सय ८८ आवदेक छन्। आवेदक संख्यालाई कुल वितरण हुने ट्याक्सी नम्बर प्लेट संख्याले भाग गरी जिल्लाअनुसार कोटा निर्धारण गरिएको छ।
विभागले गत साउन ५ गतेदेखि भदौ ५ गतेसम्म भूकम्पबाट अति प्रभावित भएका १४ जिल्लाका आमनागरिकसँग आवेदन लिएको थियो। आवेदन लिँदा एक सय रुपैयाँ र पीडितको सक्कल प्रमाणपत्रको प्रतिलिपि पनि लिइएको थियो। आवेदको संख्या बढी भएकै कारण वितरणमा ढिलाइ भएको पाण्डेले बताए। विभागले फागुन २४ गतेसम्म पीडितको नामावलीमा त्रूटि वा विवरण फरक परेमा सञ्चाउन समेत सयम दिएइको थियो। विभागले ट्याक्सीको नम्बर प्लेट मात्रै उपलब्ध गराउने र ट्याक्सी खरिदमा कुनै सहुलियतथ वा अनुदान नदिइने उनले स्पष्ट पारे।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार