नौ खर्बको आयात, निर्यात ६८ अर्ब

२०७४ असार १८ गते, आईतवार

काठमाडौं, १८ असार । चालू आर्थिक वर्षको ११ महिनामा भारतलगायत तेस्रो मुलुकबाट करिब नौ खर्ब रुपैयाँका सामान आयात भएको छ । अघिल्लो आर्थिक वर्षको सोहीअवधिमा सात खर्ब ८५ अर्ब ४२ करोड सात लाख मूल्य बराबरको सामान आयात भएको थियो ।
भन्सार विभागले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको नौ महिनाको आयात र निर्यातको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२/७३ को ११ महिनाको तुलनामा यो वर्षको आयात ३० प्रतिशतले बढी हो । यो आँकडाअनुसार चालू वर्षको ११ महिनाको अवधिमा आठ खर्ब ९३ अर्ब ५३ करोड २१ लाख मूल्य बराबरको सामान आयात भएको छ ।
अघिल्लो वर्षको यसै अवधिको तुलनामा यो वर्ष व्यापार घाटा ३२.१७ प्रतिशत वृद्धि भएर आठ खर्ब २४ अर्ब ९७ करोड ९० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको ११ महिनाको अवधिमा ६ खर्ब २४ अर्ब १८ करोड २२ लाख बराबरको व्यापार घाटा भएको थियो । यस अवधिमा नौ खर्ब ६२ अर्ब आठ करोड ५३ लाख रुपैयाँ बराबरको वैदेशिक कारोबार भएको छ । यो वर्ष निर्यातमा समान्य सुधार भएको छ । यो अवधिमा अघिल्लो वर्षको तुलनामा ११.९४ प्रतिशतले निर्यात वृद्धि भएर सात अर्ब ३१ करोड ४६ लाख पुगेको छ ।
चालू वर्षको ११ महिनामा ६८ अर्ब ५५ करोड ३१ लाख मूल्य बराबरको सामग्री नेपालबाट विभिन्न मुलुकमा निर्यात भएको छ । अघिल्लो वर्षको ११ महिनामा ६१ अर्ब २३ करोड ८४ लाखको वस्तु निर्यात भएको थियो । चालू आवमा ३२ अर्ब एक करोड ३४ लाख मूल्य बराबरको खाद्यान्न (चामल, गहुँ, मकै) आयात भएको छ । यसमा चामल, गहुँ र मकैबाट निर्माण हुने पीठो र दानेदार सामग्री समावेश गरिएको छैन ।
यसैगरी १९ अर्ब ५८ करोड ४८ लाख मूल्य बराबरको हरियो तरकारी आयात भएको छ । यसमा पनि सुक्खा (ड्राइ) रूपमा आउने तरकारीको आँकडा समावेश गरिएको छैन । यो अवधिमा १० अर्ब २४ करोड ४३ लाख मूल्यको हरियो फल आयात भएको छ ।
समीक्षा अवधिको आँकडाअनुसार तीन अर्ब १२ करोड ५६ लाख मूल्य बराबरको माछा, मासु र पशुपन्छी आयात भएको छ । यस्तै दुई अर्ब २६ करोड ९० लाख मूल्य बराबरको दूध र दुग्धजन्य पदार्थ आयात गरी नेपालमा भित्र्याएको छ । नेपालमा दूध उत्पादन हुने समय नभएर भारतसहित तेस्रो मुलुकबाट कच्चा दूध र पाउडर दूध आयात हुन्छ । यसैगरी खानेतेल पनि तीन अर्ब ९५ करोड २८ लाखको आयात भएको छ ।
अघिल्लो वर्षको यसै अवधिको तुलनामा यो वर्ष व्यापार घाटा ३२.१७ प्रतिशत वृद्धि भएर आठ खर्ब २४ अर्ब ९७ करोड ९० लाख रुपैयाँ पुगेको छ ।

विभिन्न प्रकारका गरी एक अर्ब ७८ करोड २२ लाख मूल्य बराबरको बिउसमेत आयात भएको छ । चालू आवमा माछा, मासु,पशुपन्छी, दूध र दुग्धजन्य पदार्थ, हरियो तरकारी, फल, खाद्यान्न र खानेतेल मात्रै ११ महिनामा ६९ अर्ब ४१ करोड ४९ लाख मूल्य बराबरको आयात भएको छ । नेपाल यस्ता उत्पादनमा आत्मनिर्भर नहुँदा ठूलो परिमाणमा आयात गर्नुपरेको छ ।
समीक्षा अवधिको आँकडाअनुसार तीन खर्ब ५१ अर्ब ७७ करोड ७९ लाख मूल्य बराबरको पेट्रोलियम पदार्थ र पेट्रोलियम सामग्री आयात भएको छ । पाँच अर्ब ३३ करोड ६५ लाख मूल्य बराबरको मदिरा र मदिराजन्य कच्चा पदार्थ आयात गरिएको छ । – अन्नपूर्ण पोस्टवाट

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु