बिर्तामोडलाई बन्द, हड्ताल मुक्त गर्ने प्रतिबद्धता
काठमाडौ, २० साउन । बिर्तामोड उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि चुनावी मैदानमा उत्रिएका उम्मेदवारले बन्द, हड्ताल, जबरजस्ती चन्दा नियन्त्रण र व्यवसायीको सुरक्षालाई प्रमुख एजेण्डा बनाएका छन् । अलग–अलग तीनवटा प्यानल घोषणा गरी चुनावमा उत्रिएका अध्यक्ष पदका उम्मेदवारसहित संघका वर्तमान अध्यक्षले बिर्तामोड नगरलाई यथाशक्य चाडो बन्द, हड्ताल मुक्त गर्ने सहितका पाँच बुँदे साझा प्रतिबद्धता व्यक्त गरेका छन् । बिर्तामोड उद्योग वाणिज्य संघको पहलमा राजनीतिक दल, नगरपालिका सामाजिक संस्था अधिकारकर्मी, सञ्चारकर्मी, नागरिक समाज लगायत सरोकारवाला सबैसँग समन्वय गरी बिर्तामोडलाई बन्दमुक्त गर्ने उनीहरुको प्रतिबद्धता छ ।
संवाद समूह झापाको संयोजनमा शुक्रबार बिर्तामोडमा ‘उद्योग व्यवसायमा बन्द–हड्तालको प्रभावः तपाईंको नेतृत्वको भूमिका र प्रतिबद्धता’ विषयमा भएको छलफलमा व्यवसायीका नेताहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् । पूर्वकै प्रमूख व्यापारिक केन्द्रको रुपमा विकसित हुँदै गएको बिर्तामोड क्षेत्रमा विभिन्न राजनीतिक दल तथा समूहबाट पटक–पटक हुने बन्द, हड्तालबाट उद्योग व्यवसाय क्षेत्रमा नकारात्मक प्रभाव परेको र उद्योग, व्यवसाय धरासायी बन्दै गएको उनीहरुले बताए । अब उद्योग, व्यवसाय प्रबर्द्धनका लागि बन्द–हड्ताल सधैंका लागि बन्द गर्नुपर्ने उनीहरुको जोड थियो ।
बिर्तामोड उद्योग वाणिज्य संघका वर्तमान अध्यक्ष बलराम कार्की, लोकतान्त्रिक व्यवसायिक प्यानलबाट अध्यक्ष पदका उम्मेदवार कुमार भट्टराई, संयुक्त व्यवसायिक प्यानलबाट अध्यक्ष पदका उम्मेदवार हनुमान मित्तल र स्वतन्त्र प्यानलबाट अध्यक्ष पदका उम्मेदवार हरि प्रसाईंले प्रतिबद्धतामा हस्ताक्षर गरेका छन् ।
उद्योग, व्यवसायलाई मर्यादित, व्यवस्थित बनाउने पनि उनीहरुको प्रतिबद्धता छ । त्यस्तै समय–समयमा घरधनी र व्यवसायी, व्यवसायी र उपभोक्ता, व्यवसायी र राज्यका निकायबीच उत्पन्न हुने विवाद–द्वन्द्वलाई मनन गरी समस्याको पहिचान गरी घरधनी, व्यवसायी, उपभोक्ता, राज्यका निकाय तथा सरोकारवाला निकायबीच सुमधुर सम्बन्ध स्थापित गर्दै समस्या समाधानको पहल गर्ने समेत उनीहरुले प्रतिबद्धता जनाएका छन् । २२ साउनमा सम्पन्न हुने बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचन शान्तिपूर्ण, मर्यादित र व्यवस्थित बनाउने, निर्वाचन आचारसंहिता पूर्ण पालना गर्ने, एकअर्काप्रति सम्मान र आदरपूर्वक व्यवहार गर्दै स्वस्थ र स्वच्छ प्रतिष्पर्धा गर्ने तीनवटै प्यानलका उम्मेदवारको साझा प्रतिबद्धता छ ।
निर्वाचनको सन्दर्भ तथा आगामी दिनमा पनि उद्योगी, व्यवसायी तथा सरोकारवालाबीच कुनै समस्या र विवाद उत्पन्न भए आपसी छलफल र वार्ताबाट समाधान गर्ने समेत उनीहरुले प्रतिबद्धता जनाएका छन् ।