भारतसँगको रास्ट्रघाती सम्झौताविरुद्ध सडक संघर्ष

काठमाडौं, १५ भदौ । प्रधानमन्त्री शेरबहादुर देउबाले भारत भ्रमणका बेला गरेको रास्ट्रघाती सम्झौता र अभिव्यक्तिलाई लिएर ९ वाम पार्टीहरुले संयुक्त रुपमा सडक संघर्ष गर्ने निर्णय गरेका छन् । भ्रमणको क्रममा प्रधानमन्त्री देउवाले नेपालको स्वतन्त्रता, अखण्डता र सार्वभौमिकताविरुद्ध अभिव्यक्ति दिएको ९ पार्टीले निष्कर्ष निकालेका छन् ।
त्यस्तै प्रधानमन्त्री देउवाले भ्रमणको क्रममा कोशी उच्च बाँधको डिपिआर तयार गर्ने, अरूण तेस्रो परियोजनाको सिलान्यास गर्ने र त्यसको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निमन्त्रणा दिने, पञ्चेश्वर परियोजनाको डिपिआर तयार गर्ने, माथिल्लो कर्णाली परियोजनाको कार्यान्वयन अगाडि बढाउने, भारतले सीमा क्षेत्रमा निर्माण गरेका संरचनाका कारणले नेपाली भूमि डुबानमा परी भएको क्षति र समस्याका बारेमा ठीक ढङ्गले विषयवस्तु नराखेको, विराटनगरस्थित भारतीय सुरक्षा क्याम्प हटाउन पहल नगरेको भन्दै अापत्ति जनाएका छन् ।
बुधबार ९ पार्टीको संयुक्त बैठकपछि जारी विज्ञप्तिअनुसार यही भदौ १९ गते रत्नपार्क शान्तिवाटिकामा अपरान्ह २ बजे नेपालका कुटनीतिज्ञ तथा विषय विज्ञहरू समेतको सहभागितामा सडक अन्तरक्रियाको कार्यक्रम आयोजना गर्ने बताइएको छ । त्यसपछि दोस्रो चरणका कार्यक्रम घोषणा गर्ने बताइएको छ ।
जारी विज्ञप्तिमा नेपाल कम्युनिष्ट पार्टी (मसाल)बाट महामन्त्री मोहनविक्रम सिंह, नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) वरिष्ठ नेता रामसिंह श्रीस, नेपाल कम्युनिष्ट पार्टी (माले) हिक्मतबहादुर देउवा, राष्ट्रिय जनमोर्चा चित्रबहादुर केसी, नेपाल कम्युनिष्ट पार्टी ऋषिराम कट्टेल, नेपाल कम्युनिष्ट पार्टी गुणराज लोहनी, देशभक्त जनगणतान्त्रिक मोर्चा सी.पी. गजुरेल, जनमोर्चा नेपाल साध्यबहादुर भण्डारी, जनसमाजवादी पार्टी, नेपालबाट सुवासराज काफ्लेले हस्ताक्षर गरेका छन् ।
उनीहरुले देउवा सरकार दलाल सरकारको रुपमा काम गरिरहेको कुरा भ्रमणका क्रममा भारतीय समकक्षीसँग गरेको कुराकानीबाट प्रष्ट भएको समेत निस्कर्ष निकालेका छन् ।