तरकारीको भाउ सस्तियो
काठमाडौ, १७ असोज । दशैँ सकिन लागे संगै काठमाडौंमा तरकारीको भाउ ओरालो लागेको छ । तरकारीको मुख्य थोक बजार कालिमाटीमा हिजो अस्तिको तुलनामा आज धेरै तरकारीको भाउ घटेको छ । आज बरेला किलोको ७८ रुपैयाँ थोक मुल्यमा झरेको छ भने सानो गोलभेंडा किलोको २२ रुपैयाँ, बन्दा ४८ रुपैयाँ, काउली ५५ रुपैयाँ, मूला २२ रुपैयाँ, भन्टा ३६ रुपैयाँ, घिउसिमी ४८ रुपैयाँ, करेला २८ रुपैयाँ, घिरौला ३३ रुपैयाँ, भिण्डी ५८ रुपैयाँ, हरियो प्याज किलोको ९५ रुपैयाँ र स्कुस किलोको १९ रुपैयाँ थोक मुल्यमा झरेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । यस्तै भाउ बढेर हरियो खुर्सानी र धनियाँ किलोको १ सय १५ रुपैयाँ तथा भेडे खुर्सानी १ सय २५ रुपैयाँ र काँक्रो किलोको ५२ रुपैयाँ थोक मुल्य पुगेको छ । अरु तरकारीको भाउ भने हिजोजस्तै छ ।
बजारमा मंगलबार ठूलो गोलभेंडा किलोको ४८ रुपैयाँ, रातो आलु ३१ रुपैयाँ, सेतो आलु २९ रुपैयाँ, सुकेको प्याज ४१ रुपैयाँ, गाँजर ७८ रुपैयाँ, बोडी र भटमासको कोसा ४८ रुपैयाँ, लौका र हरियो फर्सी ३८ रुपैयाँ, परवर ६२ रुपैयाँ, पाकेको फर्सी ४२ रुपैयाँ थोक मुल्यमा कारोबार भैरहेको समितिले जनाएको छ ।