देशभरीकै सडकमा रुट परमिट खुला
काठमाडौँ, २३ चैत । यातायात व्यवस्था विभागले देशभरका सबै सडकमा रुट परमिट खुलाउन यातायात कार्यालयहरुलाई निर्देशन दिएको छ । यसअघि सरकारले सुविधायुक्त मयूर यातायातलाई रुट परमिट दिएको विरोधमा विगत पाँच दिनदेखि काठमाडौं बनेपा रुटमा यातायात ठप्प भएको थियो । सरकारले सिन्डिकेटविरुद्ध कडा कदम चालेपछि सिन्डिकेट पक्षधर व्यवसायी पछि हटेका हुन् । सिन्डिकेट गर्ने व्यवसायीको रुट परमिट खारेज गर्ने चेतावनी दिँदै सरकारले काठमाडौं बनेपा रुटमा नयाँ यातायात समितिलाई रुट परमिट दिन थालेको छ ।
यातायात व्यवस्था ऐनमा व्यवस्था गरिएको खुला प्रतिस्पर्धाको मर्मका आधारमा देशभरका सबै रुटहरुमा नयाँ सवारीलाई परमिट दिन विभागले निर्देशन दिएको हो । सरकारले सिन्डिकेट बिरुद्धको निर्देशन दिएतापनि पश्चिम नेपालका साथै पृथ्वी राजमार्ग भएर जाने रुटहरुमा अझै सिन्डिकेट कायम छ ।तर, देशभर रुट इजाजत खुला गर्ने सरकारको नयाँ निर्णयले यातायातमा ब्यवसायीहरुको एकलौटी राजको अन्त्य हुने र नयाँ ब्यवसायीलाई पनि प्रतिस्पर्धामा आउन मौका मिल्ने यातायात व्यवस्था विभागको दाबी छ ।