कर्णालीमा ‘जन्मँदा र मर्दा चामल दिने’ कार्यक्रम प्रभावहीन
काठमाडौं, १० असार । सरकारले कर्णाली प्रदेशमा जन्म र मृत्युमा २० किलो चामल दिने कार्यक्रम लागू गरे पनि यसप्रति स्थानीयको आकर्षण घट्दै गएको छ । कर्णालीका ५ जिल्लामा जन्मँदा र मृत्युका बेला परिवारलाई वितरण गर्ने चामल लिन स्थानीय नआएपछि कार्यक्रम प्रभावकारी बन्न नसकेको हो । चालू आर्थिक वर्षका लागि यस शीर्षकमा छुट्याइएको ४ करोड रुपैयाँमध्ये २ लाख ८६ हजार ५ सय रुपैयाँमात्र खर्च भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । चामल लिन नआएपछि सो कार्यक्रमका लागि छुट्याइएको रकम फ्रिज भएको मन्त्रालयको भनाइ छ ।
मन्त्रालयका सहसचिव नवराज ढकालले जन्मँदा चामल लिन आए पनि मृत्यु हुँदा चामल लिन आउने संख्या न्युन रहेको बताए । जन्म र मृत्यु हुँदा २० किलो चामल दिने कार्यक्रमका लागि छुट्याएको रकम खर्च नभएपछि कार्यक्रम प्रभावकारी बन्न नसकेको हो । पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा कर्णाली अञ्चलमा जन्मँदा २० र मृत्यु हुँदा २० किलो चामल दिने कार्यक्रम ल्याइएको थियो ।- काराेबार दैनिकवाट