अक्सिजनमा १२५ प्रतिशत मूल्यवृद्धि

काठमाडौं, ३१ असार । अक्सिजन ग्यासको मूल्यमा १२५ प्रतिशतसम्म मूल्यवृद्धि भएको छ । बिरामीले प्रयाेग गर्नेअक्सिजन ग्यासमा १२५ प्रतिशतसम्म मूल्यवृद्धि गरेकाे घटनाप्रति सरकारले चासाे दिएकाे छ । आफूखुसी मूल्य तोक्ने उत्पादक कम्पनी तथा सञ्चालकलाई कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयले निर्देशन दिएको छ ।
शुक्रबार प्रधानमन्त्री कार्यालयले गृह मन्त्रालयलाई परिपत्र गर्दै ‘मेडिकल अक्सिजनजस्तो अति संवेदनशील वस्तुको उत्पादन तथा बिक्री/वितरण र मूल्य निर्धारणमा सिन्डिकेट तथा कालोबजारी गर्नेमाथि तत्काल कारबाही थाल्न’ भनिएकाे छ । अति अावश्यकीय अक्सिजन ग्यासमा गरिएको १२५ प्रतिशत मूल्यवृद्धि तत्काल नियन्त्रण गरी संलग्नमाथि कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिइएकाे हाे ।
ग्यास उत्पादक संघले १० लिटर र ४७ लिटरका साना र ठूला दुवै अक्सिजन ग्यास सिलिन्डरको मूल्य १ सय २५ प्रतिशतसम्म बढाउने निर्णय गरेकाे थियाे । व्यवसायीहरूकाे सहमतिमा संघले साउन १ गतेदेखि लागू हुनेगरी शुक्रबार नयाँ मूल्य निर्धारण गरेकाे थियाे ।
गृह मन्त्रलयले देशभर अक्सिजन उत्पादन गर्दै आएका १० कम्पनीमाथी छानबिन अघि बढाइसकेको जनाएकाे छ । यससँगै अब आफूखुसी मूल्यवृद्धि गर्ने र कालाेबजारीमा संलग्न औद्योगिक प्रतिष्ठानका सञ्चालक कालोबजारी ऐन अन्तर्गत छानबिनको दायरामा पर्ने भएका छन् ।