मध्यभोटेशी जलविद्युत आयोजनामा ताला
काठमाडौं, ६ साउन । मध्यभोटेशी जलविद्युत आयोजनाविरुद्ध स्थानीय आन्दोलनमा उत्रिएका छन् । निर्माणधीन १०२ मेगावाट क्षमताको सो आयोजनाले उपेक्षा गरेको भन्दै स्थानीयले आज बाह्रविसेस्थित साइट कार्यालयमा ताला लगाएका हुन् । आयोजनाको केन्द्रीय कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले साइट कार्यालयमा तालाबन्दी गरेका हुन् । निर्माण कार्य सुरु हुने बेला आयोजनाले स्थानीयसँग गरेको सम्झौता कार्यान्वयन नगरेकाले तालाबन्दी गर्न वाध्य भएको स्थानीय रेशम प्रधानले जानकारी दिए । स्थानीयको आन्दोलनलाई जनप्रतिनिधिले समेत साथ दिएका छन् ।
शिक्षा, स्वास्थ्य रोजगारी, आर्थिक लगानीलगायतको बिबिध बिषयमा आयोजनाले सम्झौताअनुसार काम नगरेको स्थानीयको आरोप छ । स्थानीयसँगै चिलिमे जलविद्युत कम्पनीको लगानीमा चारवर्ष अघि आयोजना निर्माणको काम सुरु भएको थियो । आयोजनाले स्थानीयको कुरा सुन्नुभन्दा समस्यालाई बल्झाउँदै लागत बढाउने नियत राखेको बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले बताए । विगतमा भएको सम्झौता कार्यान्वयन हुने अवस्था नआएसम्म कार्यालयको ताला खोल्न नदिने स्थानीयले बताएका छन् । केहीदिनअघि आयोजनाले स्थानीयस्तरमा गर्न लागेको ठेक्का प्रक्रिया समेत विवादका कारण रोकिएको थियो ।