चर्को ब्याजविरुद्ध उद्योगी आन्दोलित

२०७५ माघ १४ गते, सोमबार

काठमाडौं, १४ माघ । बैंकहरूले आफूखुसी ब्याजदर बढाएको भन्दै मोरङ–सुनसरी औद्योगिक क्षेत्रका उद्योगीहरू आन्दोलित भएका छन् । पहिलो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत आइतबार जिल्ला प्रशासन कार्यालय मोरङ र राष्ट्रबैंकमार्फत सरकारलाई ज्ञापनपत्र पठाएका छन् । विरोध जुलुससहित प्रशासन कार्यालय पुगेका उद्योगी व्यवसायीहरुले मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीलाई ज्ञापनपत्र बुझाए ।
सरकारले उद्योगी व्यवसायीलाई राहत दिनुको सट्टा झनै आहत बनाएको भन्दै उद्योगीहरू आन्दोलित भएका हुन् । विद्यमान ब्याजसमेत तिर्न नसकिरहेको अवस्थामा पछिल्लोपटक बैंकहरूले झनै ब्याज वृद्धि गरेपछि उद्योगीहरूले चरणबद्ध आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरेका छन् । मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त रुपमा आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । एक हप्ताको अल्टिमेटम दिएर उनीहरुले सरकारलाई ज्ञापनपत्र पठाएका हुन् । एक हप्ताभित्र माग पूरा नभएको दोस्रो चरणको कार्यक्रम सुरु गर्ने जनाएका छन् । दोस्रो चरणको कार्यक्रम पनि सार्वजनिक गरिसकेका छन् । संगठनका अध्यक्ष भीम घिमिरे र संघका कार्यबाहक अध्यक्ष सुनिल टिडेवालले प्रजिअ केसी र राष्ट्रबैंकका निर्देशक विनोद आचार्यलाई ज्ञापनपत्र बुझाए । -कारोबार दैनिकबाट

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु