बैंकको ब्याजदरविरुद्ध संघर्ष
काठमाडौं, १ फागुन । रुपन्देहीका उद्योगी व्यवसायीले बैंक तथा वित्तीय संस्थाले बढाएको अत्याधिक ब्याज घटाउन सरकारले पहल नगरेपछि सम्बन्धित बैंकमाथि दबाब बढाउन थालेका छन् । बैँकहरुले एकाएक बढाएको व्याजले देशको बित्तीय क्षेत्र नै तरंगित बनेको छ । यसकै विरोधमा देशव्यापी रुपमा व्यवसायीहरुले आन्दोलन गरिरहेका छन् । जसमध्ये रुपन्देहीका व्यवसायीले पनि विभिन्न स्वरुपका आन्दोलन र दबाबमूलक काम गर्दै आइरहेका छन् । प्रशासन र सरकारसँग गरेको लबिङ परिणाममुखी नभएपछि व्यवसायीहरु बैँकहरुलाई नै सहमत गराउन लागिपरेका छन् । उद्योग व्यापार संगठन रुपन्देहीको नेतृत्व टोलीले भैरहवा क्षेत्रका दुई दर्जन बैंकहरुलाई व्याजदर घटाउन माग गर्दै ज्ञापन पत्र बुझाएका छन् ।
यद्यपि उनीहरुले व्याजदर नघट्दासम्म आन्दोलन जारी राख्ने चेतावनी दिइरहेका छन् । बैँकहरुले एकाएक व्याजदर वृद्धि गरेकोप्रति नेपाल राष्ट्र बैँकले खबरदारी र आवश्यक पहल नगरेकोप्रति उनीहरुको आक्रोश देखिन्छ । बैंकहरुले मनपरी ढंगबाट १६ दशमलव ७५ प्रतिशतसम्म ब्याज वृद्धि गरेपछि आफूहरु सबैभन्दा बढी मर्कामा परेको व्यवसायीको गुनासो छ । अर्कोतिर व्याजदर वृद्धिको अन्तिम मार उपभोक्तालाई नै पर्ने देखिन्छ उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले बैक तथा बित्तिय सस्थाले मनोमानी ढङगले व्याजदर बृद्धि गरेर बैंकिङ कालोबजारी र बैंकिङ सिण्डिकेट गरेको आरोप लगाए । व्यवसायीहरुले बैंकको व्याजदर ९ प्रतिशतमा झार्न राष्ट्र बैँकलाई आग्रह गरेका छन् । बैँकहरुले बढाएको व्याजले बित्तीय क्षेत्र नै तरंगित भएको छ ।
चर्को व्याजदर नघटाए उद्योगी व्यवसायीले ऋण चुक्ता गरी व्यवसायबाट मुक्त हुनुपर्ने बाध्यता आइपरेको गुनासो गरेका छन् । मापदण्ड र मर्का नपर्ने गरी बैँकहरुले व्याजदर बढाउनु स्वाभाविक भएपनि आम उपभोक्ता र लगानीकर्ताको ढाडै सेक्ने गरी बढाएको व्याजलाई भने जायज मान्न सकिन्न । यसमा सरकारले नियमन गर्ने र बैँकहरुले आफ्नो निर्णयको पुनरावलोकन गरेर मध्यमार्गी बाटो समात्नै पर्छ ।