किसान महासङ्घद्वारा माफियालाई कारबाही गर्ने चेतावनी

२०७५ फाल्गुन ७ गते, मंगलवार

काठमाडौँ, ७ फागुन । नेपाल कम्युनिस्ट पार्टी निकट नेपाल किसान महासङ्घ (क्रान्तिकारी)का संयोजक राजु कार्कीले उखु किसानहरूका समस्याप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन । संयोजक कार्कीले मङ्गलबार प्रेस विज्ञप्ति जारी गरि किसानका माग पूरा गर्न आह्वान गरेका छन साथै उनले किसानको माग पुरा नगर्ने माफियाहरुलाई कारबाहीको चेतावनी समेत दिएका छन् । संयोजक कार्कीले भनेका छन्, ‘किसानले साहूमहाजनसँग चक्रवृत्ति ब्याजमा पैसा लिएर उखु लगाउँछन् । त्यो उखु बिक्री गर्नका लागि सरकारले समयमै समर्थन मूल्य तोक्दैन । तोकिए पनि उद्योगहरूले उक्त समर्थन मूल्यमा उखु खरिद नगरी आफैँ मनोमानी ढङ्गले मूल्य तोक्छन् । सरकार नियमन गर्न सक्दैन । उल्टो किसानले पाउनुपर्ने अनुदानको पैसा समयमै दिन सक्दैन । उद्योगीहरू पनि विगतमा सहमति भएको मूल्यभन्दा पनि घटाएर किसानलाई रकम दिने, आफैँ मनोमानी ढुवानी भाडा वृद्धि गर्ने, तौल घटाउनेजस्ता घृणित कार्य गरिरहेका छन् । यिनै क्रियाकलापका कारण उखु किसान आत्मदाह गर्ने ठाउँमा पुगिसकेका छन् ।’
कार्कीको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले चिनीको आयात बन्देज लगाएर उद्योगीहरूलाई चिनीमा एकाधिकार रहने अधिकार दिइरहेको छ भने उद्योगीहरूले किसानलाई मारिरहेका छन् । सरकार उखु किसानको समस्या नसुनी उद्योगीको दबाबमा बस्छ । यसबाट के परिणाम निस्किन्छ भने कतै सरकार नै चिनीकाण्डको माफिया त बनिरहेको छैन ? शङ्का गर्ने ठाउँ छ ।’ उनले ‘चिनी आयातमा रोक लगाउने तर भारतीय उखु किसानको उखु किन्न चिनी उद्योगीहरू तँछाडमछाड गर्दै राज्य प्रशासनलाईसमेत सेटिङ गर्न लागिपर्नुले उद्योगीहरूको नाङ्गो रूपसमेत देखापरेको’ बताएका छन् ।
संयोजक कार्कीले उखु किसानका समस्या तत्काल सम्बोधन गर्न, चिनी र अनुदानका काण्डसँग जोडिएका घटनाहरूको छानबिन गरी कारबाही गर्न जोडदार माग गरेका छन् । आफ्नो माग सुनुवाइ नभए किसानका साथमा सङ्घर्षमा उत्रिन बाध्य हुने यसै विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु