अबैध क्रसर उद्योगमा जनप्रतिनिधि नै संलग्न
काठमाडौं, २६ फागुन । झापा र इलामको सीमामा पर्ने चुरे निषेधित क्षेत्र र नदी आसपासमा नियमविपरीतका क्रसर उद्योगमा जनप्रतिनिधि नै संलग्न भएको पाइएको छ । चुरे क्षेत्रको संरक्षण र यसमाथिको दोहन नियन्त्रणका लागि सरकारले गुरुयोजना नै तयार पारिसकेको छ । तर झापाको अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा भने गुरुयोजनाकै उपहास हुने गरी विकासका नाममा विरिङ्ग नदीमाथि दोहन भइरहेको छ । नदीको पश्चिमतर्फ अर्जुनधारा १ र पूर्वतर्फ बुद्धशान्ति गाउँपालिका १ अन्तर्गतको करिब डेढ किलोमिटर क्षेत्रभित्र नदीजन्य सामग्री उत्खनन् गर्न नपाइने भनेर तोकिएको छ ।
चुरे निषेधित क्षेत्रमै कुमार आशीष जेभीले क्रसर उद्योग स्थापना गरेर नदी दोहन गरेको जिल्ला अनुगमन तथा समन्वय समिति झापाको टोलीले फेला पारेको छ । वडाध्यक्षको सिफारिसकै आधारमा निषेधित क्षेत्रमा क्रसर उद्योग सञ्चालन गरेपछि तत्काल बन्द गर्न निर्देशन दिएको समितिका अध्यक्ष सोमनाथ पोर्तेलले बताए ।
चुरे निषेधित क्षेत्रमा गिट्टी, बालुवा, ढुंगा उत्खननका लागि प्रयोग गरिने स्काभेटर र जेसीभी मेसिन लुकाएर राखेको टोलीले अनुगमन टोलीले फेला पारेको थियो ।