प्रत्येक नेपालीको टाउकाेमा ३१७५० सरकारी ऋण

२०७५ चैत्र ३० गते, शनिबार

काठमाडौं , ३० चैत । महालेखा परीक्षकको कार्यालयका अनुसार नेपालीकाे प्रतिव्यक्ति ऋण बढेर ३१ हजार नाघेकाे छ । पछिल्लो अध्ययनअनुसार प्रत्येक नेपालीको टाउकाेमा ३१ हजार ७ सय ५० रुपैयाँ सरकारी ऋणकाे भार पुगेकाे हो । शुक्रवार राष्ट्रपतिसमक्ष पेश गरेकाे महालेखाकाे आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदनमा सो कुरा उल्लेख गरिएकाे छ । महालेखकाे वार्षिक प्रतिवेदनका अनुसार गएको आर्थिक वर्षमा नेपाल सरकारको ऋण दायित्व गत वर्षको तुलनामा एक तिहाइले बढेको छ । जसअनुसार हाल सरकारको कूल ऋण दायित्व आन्तरिकतर्फ ३ खर्ब ९१ अर्ब १६ करोड रुपैयाँ र वैदेशिक ऋणतर्फ ५ खर्ब २४ अर्ब १५ करोड रुपैयाँ गरी कुल ९ खर्ब १५ अर्ब ३१ करोड रुपैयाँ रहेको छ ।
कुल राष्ट्रिय ऋण (सरकारकाे ऋण दायित्व) लाई कुल जनसङ्ख्याले भाग लगाउँदा आउने स‌ंख्यालाई नै प्रतिव्यक्ति ऋण भनिन्छ । नेपालकाे पछिल्लाे जनसंख्या २ करोड ८८ लाख २९ हजार मानिएकाे छ । आर्थिक वर्ष २०७३/७४ को तुलनामा प्रतिव्यक्ति ऋण ७ हजार ४३ रुपैयाँले बढेको हो । यसैगरी महालेखा परीक्षकको कार्यालयले आर्थिक यस वर्ष बेरुजु रकम झनै बढेकाे देखाएकाे छ । यस वर्ष कुल बेरुजु रकम ६ खर्ब ७७ अर्ब ४८ करोड बराबरकाे फर्स्याैट हुन बाँकी रहेको महालेखाकाे ठहर छ । २०७३/७४ मा बाँकी रहेको बेरुजु दुई खर्ब ९० अर्ब ५२ करोड रुपैयाँमा समायोजन र फछ्‌र्योट गरिएको रकम घटाउदा पनि आर्थिक वर्ष २०७४/७५ मा थप १ खर्ब ४१ अर्ब ५ करोड रुपैयाँ बेरुजु थपिएको महालेखाले जनाएकाे छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु