प्रहरी नै मिर्गौला तस्करीमा
काठमाडौं , १७ साउन । नेपाल प्रहरीका बहालवाल प्रहरी नायव निरीक्षक योगेन्द्रराज थपलिया मिर्गौला तस्करीको आरोपमा पक्राउ परेका छन् । थपलियाले प्रहरीकै पूर्वहवल्दार समेतकोे मिलेमतोमा बिगत केही बर्षदेखि मिर्गौला तस्करी गर्दै आएको खुलासा भएको छ । उनलाई हाल महानगरीय प्रहरी बृत महाराजगञ्जको टोलीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।
चार जना संलग्न उक्त समूहले काभे्र जिल्ला घर भइ हाल चाबहिल बस्ने मनमैजुस्थित एक खाजा घरमा काम गर्दै आएका बिष्ण् खड्कालाई मिर्गौला बेचेबापत मोटो रकम हात पर्ने भन्दै भारत पुर्याएर उनको मिर्गौला बेचेको पाइएको हो । खड्काले सो समूहले आफुलाई वीर अस्पताल नजिकै रहेको अनमोल क्लिनिक एण्ड डाइग्नोसिस्ट सेन्टरमा लगि बेहोस बनाइ भारत पुर्याएको बताए ।
यता बिष्णु हराएपछि उनका परिवारले थपलियाले नै आफनो भाइलाई बेपत्ता पारेको भन्दै उजुरी दिएपछि प्रहरीले थपलिया र पूर्वप्रहरी हवल्दार थनितसिंह गुरुङ, रमेश कार्की, नारायण पराजुलीलाई पक्राउ गरेको हो । उनीहरुलाई मानव ओसार–पसार तथा बेचविखन मुद्दामा अनुसन्धान अघि बढाएको प्रहरी श्रोतले बताएको छ ।