मेडिकल कलेजहरूद्वारा अतिरिक्त शुल्क फिर्ता गर्न अटेर

२०७६ मंसिर ७ गते, शनिबार

काठमाडौं, ७ मंसिर । विद्यार्थीसँंग लिएको अतिरिक्त शुल्क फिर्ता दिन सरकारले दिएको १५ दिने समयसीमा सकिन चार दिन बाँकी मात्र बाँकी छ । मेडिकल कलेजहरूले शुल्क फिर्ता गर्न अटेर गरिरहेका छन् भने विद्यार्थीहरू माग पूरा गराउन सडकमा पोखिएका छन् । नेसनल मेडिकल कलेज वीरगन्ज, युनिभर्सल मेडिकल साइन्सेज भैरहवा, गण्डकी मेडिकल कलेज, चितवन मेडिकल कलेजलगायतका कलेजमा शुल्क बढी लिएको भन्दै विद्यार्थीहरू आन्दोलित भए पनि कलेजले शुल्क फिर्ता गर्न आनाकानी गरिरहेका छन् । नेपाली सेनाले सञ्चालन गरेको मेडिकल कलेजमा समेत आठ लाख रुपियाँसम्म अतिरिक्त शुल्क लिएको विषय सार्वजनिक भइसकेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले मन्त्रालयले १५ दिनभित्र विद्यार्थी र मेडिकल कलेजबीच सहमति गरी समस्या समाधान गर्न निर्देशन दिएको र त्यसबारेमा मन्त्रालयले अनुगमन गरिरहेको जानकारी दिनुभयो । उहाँले १५ दिनभित्र मेडिकल कलेजहरूले लिएको अतिरिक्त शुल्क फिर्ता गर्न चासो नदिए सम्बन्धित विद्यार्थीले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सक्ने बताउनुभयो । उहाँले विद्यार्थीको उजुरीपछि सम्बन्धित मेडिकल कलेजलाई जिल्ला प्रशासन कार्यालयमार्फत कारबाही हुने जानकारी दिनुभयो । मेडिकल कलेजहरूले सरकारले तोकेको शुल्कभन्दा बाहेक अन्य शीर्षकमा २२ लाख रुपियाँसम्म बढी शुल्क असुलेको विद्यार्थीको आरोप छ ।
निजी क्षेत्रका मेडिकल कलेज सञ्चालक ‘एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष डा। बसुरुद्दिन अन्सारीले पछिल्लो समय केही मिडिया र विद्यार्थी आफ्नोविरुद्ध लागेको आरोप लगाउनुभयो । आफू उक्त विषयमा केही नबोलेको भन्दै उहाँले आन्दोलित विद्यार्थीसँंग किन आन्दोलन गरेको भन्दा उनीहरूसँग केही जवाफ नभएको बताउनुभयो । उहाँले यो विषय राष्ट्रियस्तरको कुरा हो भनेर सम्झाउँदासमेत अटेर गरेको आरोप लगाउनुभयो । मैले विद्यार्थीको खुट्टा ढोग्ने कुरा भएन”, डा। अन्सारीले भन्नुभयो, “अधिकांश विद्यार्थी छ महिनादेखिको कोर्स डिस्टर्व भयो भनेर चिन्तित देखिएका छन् । ”
कलेजमा भारतीय विद्यार्थीसमेत रहेको भन्दै उहाँले उनीहरूको यहाँ पढाइ सकेपछि उहाँ गएर छुट्टै परीक्षा दिनुपर्ने हुँदा तिनको पढाइमा समेत असर परेको बताउनुभयो । उहाँले विद्यार्थीसँंग लिएको अतिरिक्त शुल्क फिर्ता गर्ने सन्दर्भमा बढी लिएको शुल्कलाई त्यही वर्ष वा अर्को वर्षमा समायोजन गर्न सकिने जानकारी दिनुभयो । मेडिकल कलेजको व्यथा अरू कसैलाई पनि थाहा नभएको भन्दै उहाँले यो समस्यामा मेडिकल कलेजलाई दोष थोपर्नु गलत भएको दाबी गर्नुभयो । -गोरखापत्र दैनिकवाट

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ७५.८४ अंकले बढ्यो

२०८२ श्रावण २ गते, बिहीबार

नेप्से ३४.६१ अंकले बढ्यो

२०८२ श्रावण १ गते, बुधबार