पेट्रोलियम पदार्थ अन्वेषणकाे पहिलो चरणको काम सम्पन्न
काठमाडाैँ, १६ फागुन । पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गतको पहिलो चरणको कार्य सम्पन्न भएको छ । गत कात्तिकदेखि दैलेखमा शुरु गरिएको साइस्मिक सर्वेक्षणअन्तर्गतको काम सकिएसँगै पहिलो चरणको काम सम्पन्न भएको हो । जिल्लाको नाभिस्थान, शिरिस्थान, पादुकालगायतका क्षेत्रलाई आधार मानी ४०० वर्ग किलोमिटर क्षेत्रलाई समेटेर २०० किलोमिटर साइस्मिक सर्वेक्षण गरिएको थियो ।
पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गत पहिलो चरणमा म्याक्टोटेल्युरिक जिओलोजिकल सर्वेक्षण तथा जियोक्यामिकल स्याम्पलिङ सर्वेक्षणको काम सम्पन्न भएको खानी तथा भूर्गभ विभागका अन्वेषण अधिकृत डा गणेशनाथ त्रिपाठीले बताए । उनका अनुसार साइस्मिक सर्वेषक्षणअन्तर्गत १० वटा लाइनमध्ये तीन वटा पूर्व पश्चिम र सात वटा उत्तर दक्षिण दिशामा पेट्रोलियम भण्डारणको सम्भावना हुनसक्ने ठाउँ हेरी चार किलोमिटर जमिनमुनिको गहिराइमा खनेर सर्वेक्षण गरिएकाे थियाे । चीनको प्राविधिक टोलीले दैलेखको भैरवी गाउँपालिकाका केही भूभाग, दुल्लु नगरपालिकाका केही क्षेत्र, डुङ्गेश्र गाउँपालिका केही भूभाग, चामुण्डा बिन्द्रासैनी नगरपालिकाका केही क्षेत्र, महाबु गाउँपालिकाका केही क्षेत्र र नारायण नगरपालिकाका क्षेत्रलाई आधार मानी पेट्रोलियम पदार्थ अन्वेषणको काम गरेको थियो ।
खानी तथा भूर्गभ विभागका अन्वेषण अधिकृत डा त्रिपाठीले चीनको प्राविधिक टोलीले अहिलेसम्म गरेको चारवटा सर्वेक्षणबाट सङ्कलन गरिएका डाटाको चीनमा गएर अध्ययन गर्नेछ । र, दैलेखको कुन भूभागमा बढी मात्रामा पेट्रोलियम पदार्थ छ भन्ने निष्कर्ष निकालिएपछि चीनकै अर्को विशेषज्ञ टोली आएर चार किलोमिटर गइराइसम्म मुख्य डिलिङको काम गर्नेछ ।
नेपालको संविधान २०७२ जारी भएपछि मधेशवाददलको समर्थनमा भारतले नेपालमा नाकाबन्दी लगाउँदाताका प्रधानमन्त्री रहेका केपी शर्मा ओली चीन गएको बेला दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण उत्खनन गर्ने सहमति भएको थियो । उक्त सहमतिअनुसार नेपाल सरकार खानी तथा भूर्गभ विभागका महानिर्देशक सोमनाथ सापकोटा र चिनियाँ सरकारको जिओलोजिकल सर्वेक्षण कम्पनीबीच दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्नका लागि रु दुई अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोगमा सम्झौता भएको थियो ।