रसुवागढी नाका खुल्दै

२०७७ असार ४ गते, बिहीबार

काठमाडौँ, ४ असार । कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि गत माघ १५ गतेदेखि औपचारिक रूपमा बन्द गरिएको रसुवागढी नाका खुलाउने गरी आवश्यक गृहकार्य सुरु भएको बताइएको छ । सरकारले सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाका एकसाथ सञ्चालन ल्याउने निर्णय गरेको थियो । तर, चीनबाट सामग्री आयात गर्दा कोरोना भित्रन सक्ने भन्दै स्थानीयले विरोध गरेपछि तातोपानी नाका मात्रै सञ्चालनमा आएको हो ।
चीनले नाका खोल्न सहमति दिएकाले केही दिनमा नै नाका सञ्चालनमा आउने रसुवा भन्सार कार्यालयले जनाएको छ । नाका सञ्चालन नआउँदा तीन महिनादेखि राजस्व संकलन हुन नसकेको कार्यालयले जनाएको छ । नाका सञ्चालन गर्नेबारे दुवै देशका सीमा प्रशासनले निर्णय गर्नेछन् । नाका बन्द भएपछि चीनको स्वशासित क्षेत्र तिब्बतको जिलोङ काउन्टी प्रशासनले चार पटक सामग्री आयात गर्ने बाहेक नाकामा अन्य गतिविधि ठप्प छ । लामो समयदेखि नाका सञ्चालनमा आउन नसक्दा केरुङमा रहेका सामग्री बिग्रने अवस्थामा पुगेको व्यवसायीले बताएका छन् ।
रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेम लगायतका सामग्री आयात हुने गरेको छ । त्यस्तै बाँसको मुडा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात हुने गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]