छोटो दूरीमा सार्वजनिक यातायात चलाउन पाईने !
काठमाडौं, २५ असार । सरकारले काठमाडौं उपत्यकाभित्र र बाहिर जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र मात्र चल्न पाउने गरी यातायात सञ्चालन गर्न सक्ने बताएको छ । बिहीबार पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता एवं अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक यातायात सञ्चालकले सुरक्षाका मापदण्ड पूरा गरेर यातायात सञ्चालन गर्न सक्ने जानकारी दिएका हुन् । मन्त्री खतिवडाले ट्याक्सीहरु तत्कालै चल्न सक्ने तर अरु सार्वजनिक यातायातलाई तयारी गर्न समय लाग्न सक्ने पनि बताए ।
ट्याक्सीले पनि काठमाडौं उपत्यकाभित्र र बाहिर सम्बन्धित जिल्लाभित्र मात्र सञ्चालन गर्न पाउने छन् । ट्याक्सीमा चालकबाहेक २ जना मात्र चढ्न पाउने नियम बनाइएको छ । बसमा आधा मात्रै यात्रु चढाउन्जेल ५० प्रतिशत बढी भाडा लिन पाउने अनुमति दिइएको छ ।
सार्वजनिक यातायातमा भने सिट क्षमताको आधा र सिटको एउटा पंक्तिमा एक जनामात्र बस्न पाउने व्यवस्था मिलाउनुपर्ने छ । ढोकामा स्यानिटाइजर अनिवार्य राख्नुपर्ने तथा यात्रुले मास्क अनिवार्य लगाउनुपर्ने भनिएको छ । चालक र सहचालकले मास्कका साथै भाइजर र पञ्जा पनि लगाउनुपर्ने तथा एक दिनमा एक पटक बस निसंक्रमण गर्नुपर्ने जनाइएको छ ।