नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचन स्थगित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको साउन २५ र २६ गतेका लागि तय भएको निर्वाचन स्थगित भएको छ । बिहीबार बसेको महासंघको पदाधिकारी बैठकले निर्वाचन स्थगित गरेको हो । सरकारले कोरोनाको जोखिम कायम रहेको भन्दै सभा सम्मेलनहरु गर्न नपाइने गरी प्रतिबन्ध लगाएका कारण भेला स्थगित गर्नु परेको महासंघले जनाएको छ । अब सरकारले सभा सम्मेलनप्रति अर्को सूचना जारी गरेपछि मात्र महासंघले भेलाबारे निर्णय लिने पनि पदाधिकारी बैठकले निष्कर्ष निकालेको छ । कोरोनाको महामारी बढिरहेको बेला देशभरका उद्यमी ब्यवसायीको भेला र चुनावी प्रकृयाको बिषयमा महासंघ भित्र बिवाद चुलिदै गए पछि महासंघका पूर्व अध्यक्षहरुको बिशेष बैठकबाट चुनावी प्रकृया हाललाई स्थगित गर्ने निर्णय गरिएको बुझिएको छ ।
महासंघले साउन २६ र २७ गते लतितपुरको हेरिटेज गार्डेनमा गर्ने भनिएको कार्यक्रमलाई सुरक्षा निकायले ब्यवसायीहरुको ठुलो भीडभाड हुन सक्ने आशंका गदै स्वीकृति समेत प्रदान नगरे पछि महासंघ अन्यौलमा परेको थियो ।