पुनःनिर्माणबारे राष्ट्रिय परिसंवाद हुने

२०७७ भाद्र ६ गते, शनिबार

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आउँदो सोमबारबाट गत पाँच वर्षमा भए/गरेका काम र अनुभवहरु आदान-प्रदान गर्न ‘भर्चुअल’ माध्यमबाट राष्ट्रिय परिसंवाद कार्यक्रम गर्ने भएको छ । तीन दिनसम्म चल्ने सो परिसंवादमा भूकम्पपछिको पाँच वर्षमा पुनःनिर्माण र पुनःस्थापनामा प्राप्त गरेका अनुभव, सफल अभ्यास एवं सिकाइहरु आदान-प्रदान गरिने बताइएको छ । प्राधिकरणका कार्यकारी समिति सदस्य डा. चन्द्रबहादुर श्रेष्ठका अनुसार भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा नेपालले प्राप्त गरेको ज्ञान, सिकाइ र अनुभवहरु अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने तथा अभिलेखीकरण गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको हो । कार्यक्रममा ५३ ओटा सोधपत्रहरु रहेको र हाउजिङ, ग्रामीण घर, सहरी घर निर्माण गर्दाका समस्या र चुनौतीकाबारेमा जानकारी दिइने उनले बताए ।
हाउजिङ विधामा मात्रै २४ ओटा पेपर रहेको उल्लेख गर्दै उहाँले सम्पदाहरुमा काम गर्दा आएका समस्या समाधान कसरी भए ? कम खर्चमा भूकम्पप्रतिरोधी घरहरु कसरी बनाउन सकिन्छ ? भन्ने कुराहरुको विषयमा सोधपत्रहरु रहेको बताए ।
विषयगत क्षेत्रहरु निजी आवास पुनःनिर्माण, सार्वजनिक एवं सामाजिक पूर्वाधार पुनःनिर्माण, साँस्कृतिक सम्पदा पुनःनिर्माण, जीविकोपार्जन, उद्धार तथा राहत एवं सुशासनबारे छलफल हुने उनले जानकारी दिए ।
प्राधिकरणले आगामी नोभेम्बरमा काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने कार्यक्रम तय भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु