आधा किलो सुनसहित पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले भारततर्फ लैजाँदै गरेको आधा किलो अवैध सुनसहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार साँझ अवैध सुनसहित ३४ वर्षीय पवनकुमार गुप्तालाई पक्राउ गरेको हो । लु ५६ प ६३१० नम्बरको मोटरसाइकलमा भारततर्फ जाँदै गर्दा मायादेवी गाउँपालिका–७ बनकसियामा गुप्ताको साथबाट आधा किलो सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । गुप्ताले कम्मरमा बाँधेको नीलो रङको थैलीभित्र २४ क्यारेट सुन ४३ तोला, १८ क्यारेट सुनको सिक्री एक तोला ४७ लाल, १८ क्यारेट सुनको औँठी बरामद गरिएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।
सुनको बजार मूल्य रु ४२ लाख तीन हजार ९६ रहेको प्रहरीको भनाइ छ । गुप्तालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल रुपन्देही पठाइएको प्रहरीले जनाएको छ ।