सडक निर्माण अलपत्र छोड्ने ठेकेदारको फोटो सार्वजनिक स्थानमा टाँस

काठमाडौं । कञ्चनपुरका स्थानीयले हुलाकी सडक निर्माण कार्य अलपत्र छोड्ने ठेकेदारको फोटो चोक चोकमा टाँसेका छन । उनीहरुले निर्माण सम्पन्न गर्नुपर्ने म्याद सकिँदा पनि काम पुरा नभएपछि ठेकेदार हराएको भन्दैफोटो सार्वजनिक स्थानमा टाँसेका हुन । गत वर्ष नै निर्माण सम्पन्न हुनुपर्ने हुलाकी सडकको हालसम्म निर्माण कार्य पूरा हुन सकेको छैन । जसले गर्दा स्थानीयले दक्षिण बेलौरी, पुनर्वास र बेलडाँडी क्षेत्रका स्थाहरुले सास्ती खेप्दै आएका छन् । निर्माण व्यवसायीको ढिलासुस्ती र लापरवाहिका कारण बेलौरीदेखि बेल्डाँडीसम्मको २० किलोमिटर सडकमा हालसम्म ४ किलोमिटर पनि काम नभएको स्थानीयको आरोप छ । उनीहरुले ठेकेदारलाई नैतिक दवाव दिन आफूले उनीहरुको फोटो सार्वजनिक स्थानमा टाँसेको बताएका छन् ।
यता हुलाकी सडक योजना कार्यालय धनगढीले गत मंसिरमा नै योजनाको म्याद सकिएको बताउँदै म्याद थप नभएकोले निर्माण कम्पनीहरु दसैंपछि काममा नफर्किएको जनाएको छ । डोकेबजारदेखि बेलौरीसम्मको २० किलोमिटर र बेल्डाडीदेखि दैजीसम्मको २२ किलोमिटर हुलाकी राजमार्ग निर्माणको जिम्मा शर्मा राजेन्द्र जेभीले पाएको छ । यस्तै बेलौरीदेखि बेल्डाँडीसम्मको २० किलोमिटर सडक निर्माणका लागि बाबा–हंश– सिद्धीसाइ जेभीसँग सम्झौता भएको छ । तीनवटै प्याकेजको तीन वर्षका काम सम्पन्न गर्नेगरी २०७३ फागुनमा ठेक्का सम्झौता भएको थियो ।