‘श्रमिकका लागि विशेष राहतमुखी कार्यक्रम तत्काल लागू गर’

काठमाडौँ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले श्रमिकका लागि विशेष राहतमुखी कार्यक्रम तत्काल लागू गर्न माग गरेको छ। नेपाल कम्युनिस्ट पार्टीनिकट सो महासङ्घका संयोजक विनोद थापाले १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना संदेश दिदै सो माग गरेका हुन्। संयोजक थापाले प्रेस वक्तव्य जारी गर्दै पुँजीपति वर्गको अमानवीय शोषण, अन्याय र अत्याचारका विरुद्ध मजदुर वर्गले आफ्नो अधिकारका निम्ति तत्कालीन राज्यसत्ताको दमनकारी नीतिको विरोध गर्दै आन्दोलनको जगमा न्याय, स्वतन्त्रता र मुक्तिका लागि बलिदान गरेको दिनको सम्झनास्वरूप विश्वभरिका श्रमिक वर्गले १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहेको उल्लेख गरेका छन् ।
वक्तव्यमा थापाले संसारलाई नै स्तब्ध बनाइरहेको कोरोना भाइरसका कारण जनजीवन अस्तव्यस्त बनिरहेको अवस्थामा जटिल परिस्थिलाई ध्यान दिँदै श्रमिकका लागि विशेष राहतमुखी कार्यक्रम तत्काल लागू गर्न सरकारसँग माग गरेका छन् । उनले भनेका छन्, ‘दलाल पुँजीवादी राज्यव्यवस्थाको सङ्कट, राजनीतिक अस्थिरता र अन्योलका कारण अहिलेको संसदीय प्रणाली पूर्ण असफल हो भन्ने सबैमा स्पष्ट छ । यो व्यवस्थाको विकल्प श्रमिक जनताले खोजिरहेका छन् । श्रमजीवी वर्गले परिवर्तनका पक्षमा आफ्नो ज्यानको परबाह नगरी इतिहासदेखि अहिलेसम्म निर्वाह गरेको भूमिकाका विरुद्ध यहाँका मुठीभरका दलालहरुले मजदुरविरोधी ऐनकानुनद्वारा गरिखाने वर्गमाथि कुशासन लादिरहेका छन् । दुःखीगरिबको आँसु र पसिनाको व्यापार गरिरहेका छन् । मजदुर हितका लागि खोलिएका केही सङ्घसङ्गठन एनजीओमा बदलिए । उनीहरुको गतिविधि औपचारिकतामा मात्र सीमित छ ।’
प्रजातन्त्र लुटतन्त्रमा बदलिँदा देशले ठूलो मूल्य चुकाउनुपरेको उल्लेख गर्दै वक्तव्यमा महँगी, कालोबजारी, हत्या, हिंसा, बलात्कारजस्ता जघन्य अपराध बढिरहेको, गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको आधारभूत आवश्यकता पूरा हुन नसकिरहेको, बेरोजगारीको सङ्ख्या दिनानुदिन बढिरहेको र उद्योग–कलकारखानाहरु बन्द हुने अवस्थामा पुगेको अवस्थामा सिङ्गो राज्य नै दलाल पुँजीवादको लपेटामा फसेको चर्चा गरिएको छ ।
शासक–प्रशासकको असफलता र व्यवस्थाबाट लादिएको उत्पीडन अन्त्यको एक मात्र निकास क्रान्तिकारी मजदुर आन्दोलनलाई राजनीतिक आन्दोलनसँग जोड्दै पुँजीवादी सत्ताको अन्त्य गर्न वैज्ञानिक समाजवाद स्थापना गर्ने दिशामा एकजुट हुन पनि वक्तव्यमा आह्वान गरिएको छ । वक्तव्यमा आमशोषित–पीडित श्रमिक मजदुर वीरताले भरिपूर्ण १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसमा क्रान्तिको नयाँ क्षितिज उघार्नेतर्फ अग्रसर हुने विश्वास व्यक्त गरिएको छ ।
