अध्यादेशमार्फत बजेट ल्याउने तयारी: बजेटको आकार १६ खर्ब आसपास हुने

काठमाडौं । सरकारले आगामि आर्थिक वर्ष २०७८ / ७९ को बजेट भोलि सार्वजनिक गर्दैछ । विपक्षीहरुले कामचलाउ सरकारले पूर्ण बजेट ल्याउन नसक्ने दावी गरिरहेका बेला सरकारले ठूलो आकारको बजेट ल्याउने तयारी गरेको हो । सरकारले अध्यादेशमार्फत ल्याउन लागेको बजेटको आकार १६ खर्ब आसपासको हुनेछ भने आज सरकारले आर्थिक सर्वेक्षण सार्वजनिक गर्दैछ । अर्थ मन्त्रालयका अनुसार आज दिउसो २ बजे मन्त्रालयबाटै आर्थिक सर्वेक्षण सार्वजनिक गरिनेछ ।
गत वर्ष कोभिडकै कारण बजेटको आकार घटाउदै १४ खर्ब ७४ अर्बको बजेट ल्याईएको थियो । यस वर्ष भने स्रोतको संकटकै बीच बजेटको आकार बढाउने मन्त्रालयले तयारी गरेको छ । स्रोत व्यवस्थापनका लागि आगामी बजेटमा राजस्व २० प्रतिशत बृद्धि गर्ने लक्ष्य राखिएको छ । त्यस्तै आन्तरिक ऋणको सीमा पनि ५ प्रतिशतको हाराहारीमा बृद्धि गरिनेछ । आगामी बजेटमा सरकारले चुनाव केन्द्रित केही लोकप्रिय कार्याक्रमहरु समावेश गर्ने अनुमान गरिएको छ । वृद्धभत्तासहित सामाजिक सुरक्षाभत्ता ५ हजारसम्म पु-याउने, कर्मचारीको तलव २० प्रतिशतले बढाउने, उद्योगी–व्यवसायीलाई राहत दिने, युवा केन्द्रित लोकप्रिय कार्यक्रमहरु आगामी बजेटमा प्रस्तुत गर्न लागिएको अर्थमन्त्रालय स्रोत बताउँछ ।