सार्वजनिक यातायात सञ्चालन गर्न माग

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र मजदुर ट्रेड युनियनको प्रतिनिधिले संयुक्त रूपमा काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी र यातायात व्यवस्था विभागका महानिर्देशकलाई भेटेर मजदुरलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गर्दै सार्वजनिक सवारी साधन सञ्चालन गर्न माग गरेका छन् । उनिहरुले यातायात मजदुरलाई कोभिड–१९ विरुद्धको खोपको प्रबन्ध गर्न र स्वास्थ्य प्रोटोकल पालना गराउँदै सवारी सञ्चालन गराउन माग गरेका हुन् ।
यातायात क्षेत्र बन्द हुँदा यस क्षेत्रले ठूलो घाटा बेहोर्नु परेको तथा मजदुरहरू भोकभोकै बस्नुपर्ने बाध्यता आइलागेकाले आफूहरूको माग सम्बोधन गर्न ध्यानाकर्षण गराएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । प्रशासनले यस विषयमा सकारात्मक भएको र संक्रमणको अवस्था हेरेर निर्णय गर्ने जानकारी दिएको उनको भनाइ छ ।
सार्वजनिक सवारी साधन तत्काल सञ्चालन गर्न नसकिने अवस्थामा आफूहरूलाई राहत प्याकेज उपलब्ध गराउनुपर्ने यातायात मजदुरको माग छ ।