राष्ट्रिय उद्योग बाणिज्य महासङ्घ तुलसीपुर उप–महानगरपालिका कमिटीको अध्यक्षमा उज्वल शर्मा

२०७८ श्रावण १७ गते, आईतवार


काठमाडौं । राष्ट्रिय उद्योग वाणिज्य महासङ्घ दाङ जिल्ला अन्तर्गत तुलसीपुर उप–महानगरपालिका कमिटीको प्रथम नगर भेलाले उज्वल शर्माको अध्यक्षतामा १५ सदस्यीय तुलसीपुर उप–महानगरपालिका कमिटी चयन गरेको छ । प्रथम नगर भेलालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज तथा कार्यक्रमका प्रमुख अतिथि शितलले उद्योगी व्यपारीका हक, अधिकार प्राप्तिका लागि सम्पूर्ण व्यवसायीहरू महासङ्घमा सङ्गठित हुन आह्वान् गरे । उनले राष्ट्रिय पुँजीलाई धराशायी बनाएर बिदेशी पुँजी प्रोत्साहित गर्ने दलाल राज्यका विरुद्ध निर्मम सङ्घर्ष गर्नुपर्ने धारणा राखे । एक फरक प्रसङ्गमा प्रमुख अतिथि शितलले दलाल पुँजीको संरक्षण गर्ने दलालहरूको राज्यमा राष्ट्रिय पुँजीपति वर्गको संरक्षण नहुने बताए । उनले आफ्नो पार्टीले व्यवस्था चुन्ने अधिकार जनतालाई दिन जनमतसङ्ग्रहको एजेन्डा अघि सारेको पनि बताए । शितलले जनमतसङ्ग्रह मार्फत वैज्ञानिक समाजवाद कि दलाल पुँजीवाद भन्ने विषयमा जनतालाई व्यवस्था छान्न दिनु लोकतान्त्रिक मूल्य मान्यताको उच्चतम् प्रयोग भएको धारणा राखे ।
कार्यक्रममा मन्तव्य राख्दै नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिपले यो व्यवस्थामा कालोबजारी, चरम भ्रस्टाचार, लुटपाट, दलालिकरण मात्र सम्भव भएको बताए । उनले नेपाली उद्योगी, व्यापारीबाट चर्को कर असुली गर्ने बिदेशी पुँजीलाई प्रोत्साहित गर्ने राज्यविरुद्ध आम उद्योगी, व्यवसायीहरूले सङ्घर्ष गर्नुपर्ने धारणा राखे ।
यस्तै राष्ट्रिय उद्योग बाणिज्य महासङ्घका केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष भद्रबहादुर वली ‘सुधिर’ ले भ्रष्ट राज्यबाट कोही पनि राष्ट्रिय पुँजीपति, व्यावसायीहरूको संरक्षण नहुने धारणा राखे । उनले वैज्ञानिक समाजवादी राज्यव्यवस्थाले मात्रै नेपाली पुँजीको संरक्षण गर्न सक्ने बताए । कार्यक्रममा मन्तव्य राख्दै स्कुलिङ विभाग दाङका प्रमुख रुद्रले नेपालमा उद्योग बाणिज्य क्षेत्र केही सिमित दलालहरूको कब्जामा रहेको बताए । उनले नेपाली पुँजीपतिहरूलाई टाँट पल्टाएर बिदेशी पुँजीलाई पोस्ने व्यवस्था रहेसम्म उद्योग बाणिज्य क्षेत्रको भ्रष्टिकरण अन्त्य नहुने धारणा राखे । कार्यक्रममा नेकपा दाङका उत्पादन बिभाग प्रमुख किरण, तुलसीपुर नगर इन्चार्ज बिकाश, सहिद परिवार समाज राप्ती व्युरो संयोजक धर्तीको आतिथ्य रहेको थियो । उज्ज्वल शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता गङ्गाधर गैरेले गरेका थिए भने सहजीकरण इश्वरी पाण्डेले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]