१२ लाख नक्कली नोट र उपकरणसहित पक्राउ
काठमाडौं । प्रहरीले नेपाली र भारतीय रुपैयाँका नक्कली नोट छाप्ने उपकरणसहित महोत्तरी गौशाला नगरपालिका–९ डुमरवानाका ४४ वर्षीय सुकन महतोलाई नियन्त्रणमा लिइएको जानकारी दिएको छ । उनलाई महोत्तरी प्रहरीले बिहीबार पक्राउ गरेको हो । गौशाला नगरपालिका–५ अन्तर्गत गौशाला बजारस्थित महावीर दासको घरमा डेरा लिई बसेका महतोका साथबाट नक्कली नोट विभिन्न दरका नेपाली तथा भारतीय नक्कली नोट र यो बनाउने उपकरण बरामद गरिएको महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी प्रकाश विष्टले जानकारी दिए ।
महतोको डेराबाट तयारी तथा कटिङ नगरेका नेपाली विभिन्न दरका नक्कली नोट ८ लाख ८२ हजार ४२० रुपैयाँ तथा भारतीय २ लाख ७७ हजार ९७० रुपैयाँ साथै विभिन्न दरका नेपाली सक्कली नोट ५ हजार ७० रुपैयाँ बरादम गरिएको डीएसपी विष्टले जानकारी दिए ।
यस्तै नक्कली नोट छाप्ने प्रिन्टर मेसिन १ थान, रबर स्टाम्प १ थान, लालीगुराँस छाप भएको फलामे ढ्याक ३ थान र महात्मागान्धी भएको ढ्याक १ थान, कम्प्युटर पेपर ३ रिम, काठको ट्रेस फर्मा २ थानलगायत सरसमान बरामद भएको उनले बताए । महतोबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कर्यालय महोत्तरीले जनाएको छ ।