१० हजार स्टाफ नर्सलाई बेलायत पठाईने !

काठमाडौँ । सरकारले १० हजार स्टाफ नर्सलाई रोजगारीका लागि बेलायत पठाउने भएको छ । यससम्बन्धी जानकारी आज वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले दिएका हुन् । गौतमले बेलायत सरकारले नेपालबाट स्टाफ नर्स लैजान चाहेकाले सम्झौताको तयारी गरिएको समेत बताए । ‘हामी कसरी श्रमिकमैत्री सम्झौता गर्न सकिन्छ भनेर छलफल गरिरहेका छौं’, उनले भने, ‘यसमा छिट्टै नै काम हुन्छ ।’
पत्रकार सम्मेलनमा श्रममन्त्री कृष्णकुमार श्रेष्ठले पनि मन्त्रालयले नयाँ श्रम गन्तव्य खोजी गरिरहेको बताए । ‘हामी बेलायतजस्ता अरु सुरक्षित गन्तव्यको खोजी गरिरहेका छौं’, उनले भने, ‘त्यस्ता मुलुकमा हामी श्रम सम्झौता गरेर श्रमिक पठाउँछौं ।’ सम्झौता भइसकेका मुलुकहरुको पनि पुनरावलोकन गरिने उनले बताए ।