नक्कली महको उत्पादन र बिक्री गर्ने पक्राउ

काठमाडौँ । महानगरीय अपराध महाशाखाको विशेष टोलीले काठमाडाैँमा गुणस्तरहीन नक्कली महको उत्पादन र बिक्री गर्ने नरेश श्रेष्ठलाई पक्राउ गरेको छ । उपत्यकाका विभिन्न स्थानहरुमा गुणस्तरहीन महको उत्पादन एवं बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेर उनलाई पक्राउ गरेको हो । महाशाखाको विशेष टोलीले ‘नतिजा प्याकेजिङ’का सञ्चालक कामनपा– २७ ज्याठा बस्ने ३८ वर्षीय नरेश श्रेष्ठ भन्ने नर बहादुर श्रेष्ठलाई मिसावट गरी गुणस्तरहीन मह बनाइरहेकै अवस्थामा पक्राउ गरिएको बताएको छ । साथै मह बनाउनको लागि प्रयोग गरिने विभिन्न प्रकारका सामग्री, मेसिन, केमिकलहरु र गुणस्तरहीन मह ७ हजार ६०० किलो तयारी मह र कच्चा महसमेत प्रहरीले बरामद गरेको छ । श्रेष्ठमाथि प्रारम्भिक अनुसन्धानपश्चात थप अनुसन्धान कारवाहीको लागि आज (शुक्रबार) महानगरीय प्रहरी परिसर, टेकुमा पठाइएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उनले गुणस्तरहीन मह बनाउनको लागि ३० प्रतिशत ग्लुकोज, ३० प्रतिशत चिनी र बाँकी ४० प्रतिशत मह बनाउन प्रयोग हुने कच्चा पदार्थ मिसावट गर्ने गरेको पाइयो । विगत ७ बर्ष अगाडिदेखि श्रेष्ठले निजको श्रीमती रस्मिला श्रेष्ठको नाममा नतिजा प्याकेजिङ सञ्चालन गरी उक्त गुणस्तरहीन मह बनाई बिक्री–वितरण गर्दै आएको खुलेको हो । उनले नतिजा प्याकेजिङको नाममा कम्पनी दर्ता गरी स्पर्स हनी नामको लेबल टाँसी बिक्री–वितरण गर्ने गरेको प्रहरीले जनाएको छ । उक्त गुणस्तरहीन मह काठमाडौँ, भक्तपुर र पोखराका होटेल, रेष्टुरेन्टहरुमा थोक तथा खुद्रा बिक्री बितरण गर्ने गरेको पाइएको छ ।
मह बनाउन प्रयोग हुने कच्चा पदार्थ दाङ, नवलपरासी र चितवनबाट खरिद गरी गुणस्तरहीन मह बनाउने गरेको र उक्त मह हाल प्रतिकिलो ६५० रुपैयाँको दरमा बिक्री बितरण गर्दै आएको बुझिएको छ । तर उक्त स्पर्स हनी भन्ने ब्राण्ड दर्ता समेत नभएको प्रहरीको ठहर छ । उक्त मह खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलमा परिक्षण गर्दा एएमएफ र एफ/जी अनुपातको मात्रा नेपाल सरकारद्वारा तोकिएको अनिवार्य गुणस्तर अनुरुप नरहेको र मह खान योग्य नरहेको खुलेको छ ।