खाडी र मलेसियाको भिजिट भिसामा केही खुकुलो

२०७८ माघ ११ गते, मंगलवार

काठमाडौं । गृह मन्त्रालयले माघ १० गतेदेखि खाडी मुलुक र मलेसियामा भ्रमण भिसामा जान रोक लगाउने निर्णयमा केही खुकुलो बनाएको छ । खाडी र मलेसियाबाहेक कम्तीमा अन्य दुई मुलुकमा पर्यटकका रूपमा भ्रमण गरिसकेका व्यक्तिले मात्रै अब खाडी राष्ट्र र मलेसिया भ्रमण भिसामा जान पाउनेछन् । मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा नेपाली दूतावासको सिफारिस पत्र परराष्ट्र मन्त्रालयलाई प्राप्त भएपछि बिरामीको कुरुवा वा रेखदेखका लागि जाने तीन पुस्ताभित्रका परिवारका सदस्यलाई भ्रमणमा जान दिने निर्णय भएको छ । त्यस्तै संशोधित निर्णयअनुसार वैदेशिक रोजगारी व्यवसाय प्रवद्र्धनका लागि जाने वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीका सञ्चालक र आधिकारिक प्रतिनिधिलाई पनि भ्रमणमा जान दिने निर्णय भएको छ ।
भ्रमण भिसामा जान वार्षिक न्यूनतम छ लाख रुपियाँ करयोग्य आय भएको र त्यसको आधा रकम बैङ्क खातामा बचत भएका कम्पनीका सञ्चालक र नेपालको कर प्रणालीमा आबद्ध व्यक्तिले पनि भ्रमण भिसामा जान पाउने भएका छन् ।
त्यस्तै नेपालमा सामान आयात निर्यात गर्ने व्यावसायिक संस्थाका प्रतिनिधि, सरकारी कामका सिलसिलामा जाने प्रतिनिधि र अन्तर्राष्ट्रिय कारोबार गर्ने बैङ्क तथा वित्तीय संस्थाका प्रतिनिधिलगायतलाई पनि यो सुविधा दिइने निर्णय भएको छ । गत शुक्रबार गृहले ओमिक्रोनको कारण देखाउँदै पूर्ण रूपमा भ्रमण भिसामा अनिश्चित कालका लागि रोक लगाएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु