आयल निगमको कार्यकारी निर्देशकका लागि १७ आवेदन

काठमाडौँँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदका लागि १७ जनाले आवेदन दिएको जनाएको छ। मन्त्रालयका अनुसार जीवनप्रकाश सिटौला, विष्णुबाबु मिश्र, हरिभक्त शाही, डा. लक्ष्मण पौडेल, लोकबहादुर खड्का, कृष्णप्रसाद यादव, तारानाथ पौडेल र चित्तरञ्जन दास, रामदेव यादव, चण्डिकाप्रसाद भट्ट, उमेशप्रसाद थानी, पंकजकुमार दास, हरिवंश आचार्य, आनन्दप्रसाद चन्द, भूपेन्द्रप्रसाद अर्याल र सञ्जय कुमारले आवेदन दिएका छन्। आवेदन दिएकामध्ये चित्तरञ्जन दास निगममै कार्यरत उपनिर्देशक हुन्।
उद्योग मन्त्रालयले मन्त्रालयसम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयनसम्बन्धी निर्देशिका, ०७८ अनुसार गत २५ पुसमा कार्यकारी निर्देशकका लागि विज्ञापन गरेको थियो। विज्ञापनमा निगमको कार्य प्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुनमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तीमा पाँच वर्षको कार्यानुभव भएको हुनुपर्ने सर्त राखिएको थियो।