सिवाईसी नेपालको आईपीओ बैशाख २ गतेदेखि

२०७८ चैत्र २४ गते, बिहीबार


काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । सिवाईसीले आगामी बैशाख २ गते शुक्रबारदेखि करिब ४ करोड रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको हो । कम्पनीले प्रतिसेयर अंकित मूल्य १०० रुपैययाँ दरका ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता सेयरको बिक्री खुला गर्ने भएको हो । कुल निष्काशित सेयर (३ लाख ९५ हजार ३३६ कित्ता) मध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । बाँकी रहेको ३ लाख ६९ हजार ४८८ कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
लघुवित्तको आईपीओमा बैशाख ६ गते मंगलबारसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओमा सिडिएस एण्ड क्यिरिङ्ग लिमिटेडको मेरोसेयर मोबाइल एप तथा वेबसाइट मार्फत आवेदन दिन सकिनेछ । साथै धितोपत्र बोर्डबाट सि–आस्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरु मर्फत पनि आवेदन दिन सकिने लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।
हाल लघुवित्तको चुक्ता पूँजी ८ करोड २१ लाख ८ हजार २४० रुपैयाँ छ । ३ करोड ९५ लाख रुपैयाँ बराबरको आईपीओ बाँडफाँडपछि चुक्ता पूँजी १२ करोड १६ लाख ४१ हजार ८४० रुपैयाँ पुग्नेछ । आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले लघुवित्तलाई केयर एनपी डबल बि माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त संस्थाले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

प्रतिक्रियाहरु

[anycomment]