बजेट अधिवेशन जेठ ३ देखि

काठमाडौं । सरकारले जेठ ३ गते बजेट अधिवेशन बोलाएको छ । सरकारको सिफारिसबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिशमा अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जनाएका छन् । ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९/१/२५ को सिफारिशमा सम्वत् २०७९ साल जेठ ३ गते मङ्गलबारका दिन १६ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ’प्रवक्ता आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले संसद्को अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो । संवैधानिक व्यवस्थाअनुसार, १५ जेठमा बजेट ल्याउनुपर्छ । त्यसका लागि सरकारले अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिश गरेको थियो । प्रत्येक वर्षको जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसको कम्तीमा १५ दिनअघि नै प्रि–बजेट छलफल गर्नुपर्ने प्रतिनिधिसभाको नियमावलीमा व्यवस्था रहेको छ । सोही अनुरुप स्थानीय तहको निर्वाचन लगत्तै प्रि–बजेटमा छलफलको लागि अधिवेशन आह्वान गरिएको हो ।