पेट्रोलियम पदार्थको मूल्य पुन: बढ्ने संकेत !

काठमाडौँ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पठाएको पेट्रोलियम पदार्थको नयाँ मूल्यसूचीमा पेट्रोल र मट्टितेलको मूल्य बढेको छ । त्यस्तै, खाना पकाउने एलपी ग्यास, डिजेल र हवाई इन्धनको मूल्य घटेको निगमले जनाएको छ । निगमका अनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ २१ पैसा बढेको छ । मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ ९८ पैसा बढेर आएको छ । डिजेलको हकमा भने प्रतिलिटर ७ रुपैयाँ ४ पैसा घटेको छ । त्यस्तै, ग्यासमा प्रतिसिलिन्डर १ सय २२ रुपैयाँ र हवाई इन्धन प्रतिलिटर ३ रुपैयाँ ३६ पैसा घटेर आएको निगमले जनाएको छ । निगमले भारतबाट आएको सूचीअनुसार नेपालमा पनि इन्धनको मूल्य समायोजन गर्ने गरेको छ । भारतले पठाएको नयाँ मूल्यसुचि अनुसार पेट्रोल प्रतिलिटर २०२.९३ रुपैयाँ, डिजेलको प्रतिलिटर १८२.७३ रुपैयाँ, मट्टितेल १४७.९२ रुपैयाँ र एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २५५१.१५ रुपैयाँ पुगेको छ ।
निगमले फेरि मूल्य समायोजनका नाममा पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य बढाउने सम्भावना बढेको छ । यसअघि सरकारले बजेटमार्फत डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर घटाएको छ। सरकारले डिजेल र पेट्रोलमा लिटरमा १०– १० रुपैयाँका दरले पूर्वाधार कर घटाएको हो। कर घटाएर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पठाईएको र अब मूल्य घटाउने वा निगमको घाटा घटाउने निर्णय मन्त्रालयले गर्ने बताइएको छ ।
पूर्वाधार कर घटाएपनि डिजेल र पेट्रोलको मूल्य भने अहिलेको तुलनामा बढ्ने देखिएको छ । अहिले सरकारले पेट्रोलमा प्रतिलिटर ६३ रुपैयाँ कर लिँदै आएको छ। सरकार अहिले ११७ रुपैयाँ १८ पैसामा किनेको पेट्रोलमा ६३ रुपैयाँ २३ पैसा कर उठाएर जनतालाई १८० रुपैयाँमा बेच्दै आएको छ । त्यसमा भन्सार शुल्क, सडक मर्मतसम्भार शुल्क, प्रदूषण शुल्क, मूल्य स्थिरीकरण कोष शुल्क र भौतिक पूर्वाधार विकास शुल्क समेटिन्छ।