१९ कम्पनीले करिब ४ अर्ब २५ करोड रुपैयाँ कर भुक्तानी नगरेपछि

काठमाडौं । ठूला करदाता कार्यालयले १९ वटा कम्पनीले करिब ४ अर्ब २५ करोड रुपैयाँ कर भुक्तानी नगरेपछि उनीहरुको नाममा सार्वजनिक सूचना प्रकाशित गरेको छ । अर्थतन्त्र संकटमा धकेलिएको विश्लेषण भइरहेको समयमा ठूला र चलेका उद्योगहरुले पनि मूल्य अभिबृद्धि कर (भ्याट), आयकर लगायतको कर तिर्न नसकेकोपछि ठूला करदाता कार्यालयले उनीहरुसँग कर असुलीको लागि ताकेता गरेको हो । ठूला करदाता कार्यालयले सवा चार अर्ब रुपैयाँ कर भुक्तानीमा अटेर गरेको भन्दै सिमेन्ट उद्योग उद्योगहरु, मदिरा उद्योगहरु, निर्माण सम्बन्धि कार्य गर्ने ठेकदार कम्पनीहरुको नाम सार्वजनिक गर्दै कर तिर्न ताकेता गरेको हो ।
त्यसमध्ये धेरै सिमेन्ट उद्योगहरुले कर नतिरेको ठूला करदाता कार्यालयले जनाएको छ । शुभश्री अग्नी सिमेन्ट उद्योग, विशाल सिमेन्ट इन्डस्ट्रिज, अरनिका आँवुखैरेनी सिमन्ट इन्डस्ट्रीज, नेपाल अम्बुजा सिमेन्ट उद्योग, लगायत उद्योगहरु रहेका छन् । अम्बुजा सिमेन्ट उद्योगले आयकर तिर्न बाँकी रहेको र अरु सिमेन्ट उद्योगहरुले भ्याट र आयकर दुबै तिर्न बाँकी रहेको ठूला करदाता कार्यालयको सूचना अधिकारी मुकुन्द पोखरेलले जानकारी दिए ।
शुभश्री अग्नी सिमेन्ट कृष्णप्रसाद पोखरेल र उनको परिवारले चलाएको कम्पनी हो । विशाल सिमेन्टको मुख्य व्यक्ति चन्द्रप्रसाद खतिवडा हुन् । अम्बुजा सिमेन्ट उद्योगको मालिक सन्दिप कुमार अग्रवाल हुन् । आँवुखैरेनी सिमन्टको मालिक सुरेन्द्र तज्या हुन् । गोदावरी स्टील उद्योगले पनि लामो समयदेखि भ्याट तिरेको छैन ।
ठूला करदाता कार्यालयले मदिरा उत्पादक कम्पनीहरुले पनि ठूलो मात्रामा भ्याट, आयकर नबुझाएकोले ताकेता गर्दै आएको छ । त्यसमा दमन बहादुर अमात्य तथा अमात्य ग्रुपको माउन्ट एभरेष्ट ब्रुअरी, ईश्वरी खड्का मुख्य लगानीकर्ता रहेको टाइगर्स ब्रुअरी इन्डस्ट्रिज, प्रभुराज बैद्यको कम्पनी यति फर्माकेमले पनि करोडौ रुपैयाँ कर भुक्तानी गर्न बाँकी रहेको छ ।
आइचर गाडीको आधिकारिक बिक्रेता इस्टर्न एजेन्सीले पनि लामो समयदेखि मूल्य अभिबृद्धि कर नबुझाएपछि ठूला करदाता कार्यालयले ताकेता गरेको छ । यो कम्पनी पछिल्लो समय ठूला विवादमा पर्दै आएको बतास समूहले चलाएको छ । करदाता कार्यालय कम्पनीका सञ्चालक शान्तराज बतासको नाममा सार्वजनिक सूचना प्रकाशित गरेको छ । शान्तराज आनन्दराज बतासका भाई तथा बतास ग्रुपका कार्यकारी निर्देशक हुन् ।
बहुराष्ट्रिय कम्पनी सोनीको आधिकारिक बिक्रेता कम्पनी नेपाः हिमा ट्रेड लिंक प्रालि, निर्माण क्षेत्रमा निकै नाम चलेका सीई कन्स्ट्रक्सन, नब कान्तिपुर कन्स्ट्रक्सन, सुदिप घिमिरे मुख्य सञ्चालक रहेको सुनाम इन्फ्राट्रक्चर प्रा.लि., पृथ्वी बहादुर श्रेष्ठको कम्पनी मनकामना हार्डवयर एण्ड सप्लायर्स, लालबहादुर वाइवाको वाइवा इन्फाटेक कम्पनीलाई पनि लामो समयदेखिका कर बक्यौता भुक्तानी गर्न ताकेता गर्दै कर कार्यालयले सार्वजनिक सूचना प्रकाशित गरेको छ ।
ठूला करदता कार्यालयले ताकेता गरेकाे कम्पनीहरूकाे सूचिमा गाेर्खा डेभलपमेन्ट बैंकमा पनि छ । तर याे बैंक खारेज भैसकेकाे छ र यसकाे दाहित्व गाेर्खा फाइनान्सले लिएकाे छ ।
आर्थिक वर्षको अन्तिम समय भएको र लामो समयदेखि करोडौं रुपैयाँ कर तिर्न बाँकी देखिएका कम्पनीहरुलाई बोलाएर छलफल गर्ने, उनीहरुका समास्या सुन्ने, कर तिर्न सहजीकराण गर्ने कार्यमा ठूला करदाता कार्यालय सक्रिय रुपमा लागेको उनले बताए । धेरै कम्पनीहरुले बैंकले कर्जाको व्याजदर अचाक्ली बढाएकोले व्यवसाय नोक्सानमा गएको र कर तिर्न नसकिएको तर्क गर्ने गरेको उनकाे भनाइ छ ।
ठूला करदाता कार्यालयमा वर्षमा १०० करोड भन्दा बढी कारोबार गर्ने करदाता मात्र दर्ता भएको, ठूलो कारोबार हुनेले सरकारलाई तिर्नु पर्ने करको रकम पनि ठूलो हुने भएकोले १९ वटा कम्पनीले नै सवा ४ अर्ब कर तिर्नु पर्ने तर नतिरेको देखिएको पोखरेलले बताए ।