दालको कन्टेनरमार्फत चुरोटको ब्यापार !

काठमाडौं। कालिका इन्टरप्राइजेजले दुबईबाट आयात गरेको मासको दालको कन्टेनरबाट करिब चार सय कार्टुन (५० लाख खिल्ली) विदेशी चुरोट बरामद भएको छ। भन्सारका सूचना अधिकारी सन्तोष न्यौपानेले जेठ १३ गते दुबईबाट भारतसम्म जहाजमा र भारतबाट रेलमार्ग भई वीरगंजमा आइपुगेको यो कन्टेनरबाट १७ सय ७४ बोरा मुङको दाल पनि बरामद भएको जानकारी दिए। भन्सार कर्मचारीले कन्टेनर खोल्दा अगाडि दालको बोरा चाङ लगाएर राखिएको थियो, पछाडिपट्टि चुरोटको कार्टुन लुकाइएको थियो। भन्सार कार्यालयले मुचुल्का उठाएर कन्टेनरलाई सिल गरेको छ। आयातकर्तालाई पत्राचार पनि गरिसकेको छ। तर आयातकर्ता सम्पर्कविहीन रहेको न्यौपानेले बताए।
भन्सार ऐनविपरीत आयात गरिएकाले करीब १० करोड जति जरिवाना तिराउने भन्सार कार्यालयको तयारी छ। ड्राइपोर्टमा यस्तो घटना पहिलोपटक भएको उनले जानकारी दिए। सन् २००४ देखि सिर्सिया सुक्खा बन्दरगाह सञ्चालन भएपछि सरकारले मालसामान स्क्यान गर्ने मेसिन ल्याए पनि प्रयोगमै नआइ लामो समयदेखि थन्किएको छ। अन्य सामानसँगै चुरोट बरामद भएपछि अहिले सबै कन्टेनरलाई सूक्ष्म ढंगले चेकजाँच गरिँदैछ।