पूँजीगत खर्च ४० प्रतिशत मात्रै !

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयका अनुसार असार १५ गते बुधबारसम्म विकास निर्माणको काममा कूल विनियोजित बजेटमध्ये ४० प्रतिशत मात्रै खर्च भएको पाइएको छ । कार्यालयका अनुसार कूल रु एक खर्ब ५१ अर्ब नौ करोड चार लाख मात्रै खर्च भएको छ । यो लक्ष्यको ३९.९६ प्रतिशत बराबर हो । सरकारको कूल खर्च भने ६७.९४ प्रतिशत बराबर भएको छ । कूल रु १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख बराबर खर्च गर्ने लक्ष्य राखिएकामा हालसम्म रु ११ खर्ब नौ अर्ब ३७ करोड ३२ लाख बराबर खर्च भएको छ । कूल विनियोजनको ६७.९४ प्रतिशत हो । सरकारको खर्चमध्ये सबैभन्दा बढी खर्च चालुमा देखिएको छ । रु १० खर्ब ६५ अर्ब २९ करोड ३९ लाख बराबरको चालु खर्च गर्ने लक्ष्य राखेको सरकारले हालसम्म रु आठ खर्ब ६६ अर्ब ९० करोड ६० लाख अर्थात् ८१.३८ प्रतिशत खर्च गरेको छ ।