२ करोड घुसको प्रलोभन देखाउने अधिवक्ता पोखरेललाई स्पष्टिकरण

काठमाडौं । नेपाल कानुन व्यवसायी परिषद्ले काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई २ करोड घुसको प्रलोभन देखाउने अधिवक्ता रुद्रप्रसाद पोखरेललाई स्पष्टिकरण सोधेको छ । परिषद्ले मंगलबार सार्वजनिक सूचना जारी गर्दै पोखरेललाई सात दिने स्पष्टिकरण सोधेको हो । सात दिनभित्र जवाफ पेश गर्न परिषद्ले सूचित गरेको छ । सिभिल सहकारीका अध्यक्ष इच्छाराज तामाङलाई धरौटीमा रिहा गर्न अधिवक्ता पोखरेलले न्यायाधीश कोइरालालाई दुई करोड घुस अफर गरेको टेलिफोन वार्ता सार्वजनिक भएको थियो । सर्वसाधारणको आठ अर्ब ठगीको आरोपमा पक्राउ परेका तामाङलाई २०७८ पुस १४ गते काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।