म्यादी प्रहरी भर्ना खुल्यो !

काठमाडौं । आगामी संघ र प्रदेश सभाको निर्वाचनका लागि म्यादी प्रहरीको लागि भर्ना खुलेको छ । नेपाल प्रहरीले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरीको लागि भर्ना खुलाएको हो । प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड, २०७९ अनुसार एक लाख १५ हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको छ । इच्छुक नेपाली नागरिकले भदौ ३० गतेदेखि असोज ६ गतेसम्म सार्वजनिक बिदाको दिन समेत दरखास्त बुझाउन सक्नेछन् । दरखास्त फाराम सबै जिल्ला प्रहरी कार्यालयमा पाइनेछ । पुरुषको हकमा घटीमा उचाइ ५ फिट २ इन्च, छाती ३१.३३ इन्च, तौल ५० किलोग्राम र महिलाको हकमा घटीमा उचाइ ५ फिट, तौल ४२ किलोग्राम भएको हुनुपर्नेछ ।
आवेदक दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ । म्यादी प्रहरीले प्रतिदिन ८६९ रुपैयाँको दरले ४० दिनसम्मको पारिश्रमिक ३४ हजार ७६० पाउने छन् । उनीहरुले खाद्यान्न बापत एकमुष्ट ७ हजार २ सय रुपैयाँ, पोशाक तथा अन्य सामग्री खरिद गर्न ६ हजार रुपैयाँ (हिमाली जिल्लामा खटिनेलाई थप १ हजार), आउने–जाने खर्च १ हजार रूपैयाँ र ३०० रुपैयाँको दरले ४ दिनको खाजा खर्च पनि पाउने छन् ।
